विश्व

जापानमा ६.१ म्याग्निच्युडको भूकम्पमा ४ जनाको मृत्यु

  • ५ असार मंगलबार, २०७५ | १०:३५:०० मा प्रकाशित
IMAGES: CNN.com

जापान । जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको खबर छ ।

सो भूकम्पमा परी ४ जनाको मृत्यु भएको छ । भूकम्प ६.१ म्याग्निच्युडको रहेको बताइएको छ । त्यसमा परी अर्को एकजनाको पनि ज्यान गएको अनुमान गरिएको छ । तर पुष्टि भएको छैन ।

भूकम्पमा परी केही व्यक्ति घाइते भएका जापान सरकारका प्रमुख सचिव यासिहिदे सुगाले जनाएका छन् । उनले मृत्यु हुनेमा एकजना ८० वर्षीय बृद्ध देखी ९ वर्षिया बालिका रहेका बताइएको छ ।

सोमबार बिहानको व्यस्त समय सो भूकम्प गएको छ । उद्धारकार्य जारी रहेको जापानको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी अधिकारीले जानकारी दिएका छन् ।

प्रमुख सचिव सुगाले भूकम्पमा परी २० जना स्थानीय घाइते भएका समाचार दाताहरुलाई बताएका छन् । भूकम्प ६.१ म्याग्निच्युडको मात्र रहेको भए पनि धेरै गहिरोगरी यसको केन्द्रबिन्दु नरहेकोले क्षति हुन पुगेको बताइएको छ ।

स्थानीय प्रहरीका अनुसार ओसाका शहरको उत्तरमा पर्ने ताकात्सुकि इकामा एक ९ वर्षीया बालिकाको मृत्यु भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ६.१ म्याग्निच्युडको मापन गरिएको सो भूकम्पको कारण विद्यायलको पर्खाल भत्किएर ती बालिकाको मृत्यु भएको थियो ।

अर्का एकजना ८० वर्षीय बृद्धको पनि पर्खाल भत्किएर नै मृत्यु भएको जापानी सञ्चार माध्यमले जानकारी दिएका छन् ।

 

तपाईँको मत