दृष्‍टिकोण

 २० लाख पर्यटक भित्र्याउन 'साहसिक खेल पर्यटन' को प्रवर्धन खाँचो

अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटनबाट रोजगारी र आयआर्जन बढाउन मनोरञ्जन, प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक र साहसिक पर्यटनको पूर्वाधार निर्माण, बजार प्रवर्द्धन र सेवा सुविधा विस्तार गरिने बताएका छन । मन्त्री खतिवडाले आगामी दुई वर्षभित्रमा २० लाख पर्यटक भित्र्याउने गरी ‘भिजिट नेपाल २०२० अभियान’ सञ्चालन गरिने र पर्यटन क्षेत्रका लागिपाँच अर्ब २० करोड ३४ लाख बजेट विनियोजन गरेका छन ।

मुलुकभित्र आर्थिक विकासको अपार सम्भावना बोकेको मुख्य र दिगो आधार पर्यटन क्षेत्रले पर्याप्त प्रवद्र्धन नपाउँदा समुचित लाभ लिन सकेको छैन । पर्यटन विश्वमै सजिलै सबैभन्दा छिटो विकास हुनसक्ने र वैदशिक मुद्रा आर्जन गर्ने उद्योग पनि हो । विश्वको कतिपय मुलुकमा कृत्रिम सुन्दरताले समेत पर्यटकलाई आकर्षित गरिरहेको बेला प्राकृतिक रुपमै रमणीय र साहसिक पर्यटकीय क्षेत्र रहेको नेपालमा हामीले पर्यटकलाई आकर्षण गर्न सकिरहेका छैनौं । धार्मिक, सामाजिक, सांस्कृति एवम् हिमाल आरोहण बाहेक पनि विभिन्न पर्यटकीय खेलमार्फत आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई मनोरञ्जन दिन सकिन्छ । तर यसतर्फ निजी र राज्यको गम्भिर ध्यान नजानुले खेल पर्यटन पुछारमा परेको छ । 

विशेष गरि नेपालमा पर्यटन खेल भन्नाले विभिन्न प्रकारका साहसिक खेलहरुलाई लिने गरिन्छ । स्थानीय स्तरमा खेल्नमिल्ने तथा कम खर्चमा रमाउन सक्ने खेलहरुलाई पर्यटनसँग जोड्न सकिन्छ । तथापी पछिल्लो समयमा नेपालमा बढ्दै गएको साहसिक पर्यटनका गतिविधिले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ । पदयात्रा, पर्वतारोहण, कठिन ट्रयाकमा साइक्लिङ रेस, क्यानोनिङ, हवाई खेलकूदका गतिविधि ९प्याराग्लाइडिङ्ग, अल्ट्रालाइट०, बञ्जीजम्प, रक क्लाइम्बिङ, हाइरोप्स, जिपफ्लायर्स, जंगल सफारी, स्काई ड्राइभिङ, स्किइड, हली स्की, बिचभलिबल लगायत साहसिक खेल गतिविधिमा पर्यटक आकर्षित हुन थालेका छन् । त्यसैगरि जलयात्राको रुपमा नेपालका भोटेकोसी, त्रिशुली, सुनकोसी, तमोर, अरुण, कालिगण्डकी, मस्याङदी लगायत विभिन्न नदीहरुमा र्याफ्टीङको मज्जा लिनेको संख्यामा अत्याधिक वृद्धि गर्न सकिन्छ ।

साहसिक पर्यटन प्रारम्भ भएको १५ वर्षपछि सरकारी स्तरबाट पहिलोपटक इजाजतको व्यवस्था गरिएको छ । बन्जीजम्प, साहसिक हवाई खेल, र्याफ्टीङ लगायत पर्यटन क्षेत्रमा लगानी थपिने क्रम बढेको छ । प्याराग्लाडिङ, अल्ट्रालाइट, जिप फ्लायरमा लगानी र कम्पनी थपिदैंछ । नेपालका साहसिक खेलमा पर्यटकीय गन्तव्य विदेशी पर्यटकका लागि मात्रै नभई आन्तरिक पर्यटकले पनि चासो राख्न थालेका छन् । नेपाललाई अन्तराष्ट्रियकरणको साहसिक पर्यटन खेलको उत्कृष्ट गन्तव्यस्थलको रुपमा चिनाउन टानले अन्तर्राष्ट्रिय च्यालेन्ज प्रतियोगिता गर्दै आइरहेको छ । हिमाली जिल्लाहरुमा हाइ अल्टिच्युड रेस आयोजना नियमित हुने गरेको छ । जहाँ सयौं प्रतियोगी सहभागी रहने गर्दछन् । तर त्यो पर्याप्त छैन । विश्वव्यापी रुपमा जति चर्चा भएर पर्यटकको ध्यानाकर्षण हुनुपथ्र्यो त्यो हुन सकेको छैन । बाह्य पर्यटक भित्र्याउने सवालमा चितवनको सौराहामा केही वर्षदेखि नियमित रुपमा आयोजना गरिंदै आएको अन्तर्राष्ट्रिय हात्ति दौडको आयोजना भइरहेको छ । सँगसँगै नियमित रुपमा हात्ति पोलोले पनि थप रौनक थप्ने गर्दछ । नेपालमा बेला–बेला हुने गल्फ खेल प्रतियोगिताले पनि विदेशी खेलाडीहरुलाई आकर्षित गरिरहेको छ । यस्ता विविध खेलहरुलाई भूगोल सुहाउँदो हरेक क्षेत्र, जिल्ला हुँदै स्थानीयस्तरमा पुर्याउँन सकिएको छैन । 

वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सार्वजनिक गरिएको ‘पर्यटन भिजन २०२०’ ओझेलमा परेको छ । अहिलेसम्म पनि उपलब्धिमूलक काम केही हुन सकेको छैन । एउटा योजना पूर्णरुपमा कार्यन्वयन हुन सकिरहेको हुँदैन अर्को घोषणा गर्न हतार भइसकेको हुन्छ । निजी र सरकारी निकायले पर्यटन प्रवद्र्धनका लागि आवश्यक अभियान नचाल्दा उत्साहजन र प्रभावकारी काम हुन नसकेको देखिन्छ । पर्यटनमा निजी क्षैत्रको योगदानको क्षमता अभिवृद्धि, साहसिक तथा खेल पर्यटनसहित अन्य पर्यटकीय गतिविधिलाई स्थापित गराउने, पर्यटन विकास तथा पूर्वाधार निर्माणसहितको दीर्घकालीन योजना कार्यान्वयन गर्ने, पर्यटन विकासको लागि निर्माण गरिएको नीतिलाई समय अनुकूल बनाई त्यसको कार्यान्वयन गर्न ध्यान दिन जरुरी छ । 

मूलधारका खेलकूदले प्राथमिकता पाइरहेका बेला पछिल्ला वर्षहरुमा पर्यटकीय खेलकूदको बढ्दो चहलपहलले विस्तारै आर्थिक उन्नतिको आधार पनि तयार गरिरहेको छ । पर्यटकीय खेललाई पनि मूलधारका खेलकूदसँग जोडेर सक्रियताकासाथ निजी र सरकारी तहबाट नियमित गर्नसके पर्यटकीय खेलकूदले थप फड्को मार्नसक्ने बलियो आधार तय गर्न सकिने अवस्था छ । पर्यटकीय खेललाई व्यावसायिक र व्यवस्थित बनाएर देशव्यापि रुपमा स्थानविशेष अनुसार पर्यटकलाई आकर्षण गर्न अर्थोउपार्जनको बलियो उद्योगको रुपमा विकास गर्न कठीन छैन । यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाललाई सामाजिक र आर्थिक रुपमा समृद्ध गराउन सकिने सम्भावना प्रबल रहेको छ । पर्यटकीय खेल नियमित गर्न प्रचारप्रसारसँगै खेलको आधारभूत, व्यावहारिक र सैद्धान्तिक ज्ञान, सीप र तालिमहरु देशभर सञ्चालन गर्नु जरुरी छ । विभिन्न खेल अनुसारका भौगोलिक स्थानहरु छनौट गर्ने, पूर्वाधार विकास विस्तार गर्नेमा कञ्जुस्याँई गर्नुहुन्न ।

नेपालमा रहेको प्रशस्त प्राकृतिक छाँगाछहरालाई सामान्य खर्चमा पर्यटकीय खेलको रुपमा विकास गर्न सकिन्छ । कहाली लागने चट्टानले छहरोमा डोरीको माध्यमबाट तल झरिने खेल क्यानोइङ ९छाँगाअवरोहण० लाई साहसिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ । पछिल्लो समय क्यानोनिङ खेल खेल्ने स्थान विश्वकै सबैभन्दा सर्वाधिक उचाइमा रहेको मनाङको पाँचहजार २१५ मिटर उचाईको नारफुको झरना जस्ता अन्य स्थानहरु खोज्न सकिन्छ । यसैको पनि थप प्रचारप्रसार गर्न सकिन्छ । क्यानोनिङ नेपालमा हाल व्यावसायिक रुपमा विकसित हुँदै गएको साहसिक खेल हो । डर लाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिदै हामफाल्दै चिप्लिदै झरना र खोलाका छाँगाबाट खस्दै खेलिने साहसिक खेल हो । हाम्रो जस्तो पहाडी र हिमाली भेगमा प्रशस्त मात्रामा हुने झरना र खोलाको छाँगाका कारण नयाँ पर्यटकीय आकर्षणका रुपमा विदेशीहरुको रोजाइमा परेको छ । हिमाल आरोहण, पदयात्रा, जलयात्रा र रमणीय प्राकृतिक सौन्दर्यका कारण विकसित नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समयमा पर्यटक लोभ्याउने नयाँनयाँ गन्तव्य सम्पदा र खेलले पर्यटक तान्ने क्रम बढेको छ । यस्ता खेलले पर्यटकलाई पनि मनोरञ्जन र रोमाञ्चक बनाउन सहयोग गर्दछ ।

वर्षेनी आन्तरिक र बाह्य गरि हजारौं विदेशी पर्यटक नेपाल घुम्छन तर हामीहरु केही पुराना गन्तव्य र क्षेत्रकोबारे जानकारी गराएर औपचारिकता मात्र पूरा गर्दछौं । पर्यटकको बसाई लम्ब्याउने थप पहल र नयाँ कुराको खोजी गर्न कन्जूस्याँई गर्दछौं । विभिन्न खेलहरुमा सहभागी गराएर उनीहरुको बसाई प्याकेजलाई तन्काउन सकिन्छ । तालिमको आवश्यकता, सरकारले साहसिक खेल तथा मनोरञ्जनात्मक खेलमा सहभागी खेलाडी तथा कामदारको लागि अनिवार्य बीमाको व्यवस्था कार्यन्वयन गर्नुपर्दछ । यस व्यवस्थाले खेललाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुका साथै सम्बन्धित कम्पनीलाई खेलमा गुणस्तरीय कायम गर्न मद्दत पुर्याउँछ । त्यस्तै विभिन्न संस्थाहरुले साहसिक खेलहरुको आयोजना गरेर पनि खेल पर्यटनलाई पवद्र्धन गर्न लागिपरेका छन् ।

त्यसो त राष्ट्रिय खेलकूद परिषदले पनि साहसिक र पर्वतीय खेलकूदमा अहिले विशेष जोड दिइरहेको देखिन्छ । त्यसैले नेपालमा आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनको लागि खेल पर्यटन सशक्त माध्यम हुन सक्छ । विश्वका कतिपय देशले खेलकूद पर्यटनको माध्यमबाट अर्थतन्त्र सुधारको बाटो अपनाइरहेको अवस्था छ । नेपालमा खेलकूद पर्यटनको भविष्य निकै उज्वल छ । पर्यटन व्यवसायीका अनुसार नेपाल आउने कूल पर्यटकको करिब ४० प्रतिशतले साहसिक खेलकूदको मनोरञ्जन लिने गरेको अनुमान छ । त्यसको लागि आमसञ्चार माध्यमको पनि उत्तिकै भूमिका रहन्छ । पर्यटन खेलकूदको प्रचारप्रसारका लागि सञ्चार माध्यमको पनि सहयोगको खाँचो छ । त्यसको लागि दीर्घकालीन खाका र योजना बनाउन निजी तथा सरकारी निकायको समन्वय जरुरी छ ।

साहसिक पर्यटकीय खेलको विकासका लागि दक्ष जनशक्ति उत्पादन गरी पर्यटन प्रवद्र्धन गर्ने अवसरलाई चुकाउँदा देशले सजिलै प्राप्त गर्ने  विदेशी मुद्रा गुमिरहेको छ । नेपाललाई साहसिक खेल पर्यटन प्रवद्र्धनको प्रमुख गन्तव्यस्थलका रुपमा परिचित गराउन र यस क्षेत्रमा जनशक्ति उत्पादन तथा भौतिक पूर्वाधार विकास आवश्यक रहेको छ । खेलकूद र पर्यटनबीच आपसि सम्बन्ध सुमधुर सम्बन्ध राख्नसके, खेलकूदले पर्यटनलाई तथा पर्यटनले खेलकूदलाई सघाउन सके दुवै क्षेत्रले आर्थिक फड्को मार्ने निश्चित छ । यी दुई एकअर्काका परिपूरक नभएसम्म वा पर्यटनकर्मी र खेलकूदकर्मीबीच खेलकूद र पर्यटनको विकासका लागि हातेमालो गर्दै अघि बढ्न सके उत्तम हुन्छ । यस व्यवसायलाई ग्रामीण पर्यटनसँग जोडेर स्थानीयलाई पनि समेट्दै जानु सबैका लागि लाभदायक नै रहन्छ । यसतर्फ सरोकारवालको ध्यान कहिले जाला खोई ?
तस्विर :गुगलबाट साभार 
 

शिवराज खड्का

तपाईँको मत