पत्र-पत्रिकाबाट

नेपालमा सबैभन्दा बढी चिनियाँ कामदार

  • १२ जेठ शनिबार, २०७५ | ०६:२६:०० मा प्रकाशित

काठमाडौं । रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या बढिरहेका बेला रोजगारीका लागि नेपालमा आउने विदेशीको संख्या पनि बढ्दो क्रममा छ । नेपालमा अनौपचारिक, औपचारिक एवं स्वरोजगारको क्षेत्रमा रोजगारीका लागि श्रम स्वीकृति लिन आवेदन दिने गैरनेपाली नागरिकको संख्या अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको पाइएको छ । यो संख्या विगत ४ वर्षमा दोब्बरले बढेको छ । 

आर्थिक वर्ष २०६९/७० मा ९ सय १० जनाले श्रम स्वीकृति लिएकोमा गत वर्षसम्म १ हजार ९ सय ७२ पुगेको छ । गत आर्थिक वर्षमा नेपालका उत्पादन, सेवा र निर्माण क्षेत्रमा काम गर्ने उद्देश्यले नेपाल आई श्रम स्वीकृति लिने विदेशीको संख्या २ हजार रहेको श्रम विभागले जनाएको छ । तर, यो संख्या श्रम स्वीकृति लिनेकोमात्र भएको श्रम विभाग गैरनेपाली व्यवस्थापन शाखाका प्रमुख नवीन पोखरेलले बताए । “कुटनीतिक क्षेत्रबाहिर नेपालमा ५ महिनाभन्दा बढी बस्ने विदेशीले अनिवार्य रूपमा श्रम स्वीकृति लिएरमात्र काम गर्न पाउने नियम छ,” प्रमुख पोखरेलले कारोबारसँग भने, “श्रम स्वीकृति नलिइ काम गर्ने गैरनेपाली नागरिक अझ धेरै हुन सक्ने भएकाले अनुगमनको काम छिट्टै गर्ने योजना रहेको छ ।” 
 

गत आवमा श्रम विभागबाट १ हजार ४ सय ७२ जना विदेशीले श्रम स्वीकृति लिएकोमा यो वर्ष १ हजार ९ सय ७२ पुगेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी चिनियाँ नागरिक रोजगारीका नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ । गत आवमामात्र १ हजार ५ सय ८४ चिनियाँ नागरिक रोजगारीका लागि नेपाल आएको देखिन्छ । विभागका अनुसार यसरी काम खोज्दै आउनेमा दोस्रोमा बेलायती र तेस्रोमा भारतीय रहेका छन् । चालू आवमा बेलायतका ५२ र भारतका ३८ जनाले मात्र विभागबाट कामका लागि स्वीकृति लिएको देखिन्छ । 
चालू आर्थिक वर्षमा निर्माण क्षेत्रमा १ हजार ४ सय ९४, सेवामूलक क्षेत्रमा ४ सय ६ र उत्पादनमूलक क्षेत्रमा ७३ विदेशी कार्यरत रहेको विभागको तथ्यांकमा उल्लेख छ । विदेशी धेरै काम गर्ने संस्थामा निजी, एनजीओ, आईएनजीओ र सरकारी संस्था धेरै रहेको देखिन्छ । यसमध्ये पनि निजी क्षेत्रमा काम गर्ने विदेशीको संख्या धेरै छ । गत वर्षमात्र निजी क्षेत्रमा काम गर्ने गरी १ हजार ३ सय ७५ विदेशीले विभागबाट श्रम स्वीकृति लिई रोजगार भिसाको लागि अध्यागमन विभागबाट भिसा लिएको प्रमुख पोखरेलले जानकारी दिए । 

“श्रम स्वीकृति लिएपछि मात्र विदेशीले रोजगार भिसा प्राप्त पर्ने गरेका कारण राम्रा कम्पनीमा काम गर्ने कन्ट्री डाइरेक्टरलेसम्म श्रम स्वीकृति लिएको देखिन्छ,” उनले भने, “श्रम स्वीकृति गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा कार्यन्वयन गर्न विभागले थप प्रकारी योजना सार्वजानिक गर्ने योजना बनाएको छ ।” यसरी नै एनजीओबाट विगत ३ वर्षमा क्रमश्ः १०९, १०९ र १६५ जनाले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएका थिए । नेपालको सरकारी क्षेत्रमा काम गर्नका लागि विगत ५ वर्षमा मात्र ९ सय ९४ जनाले श्रम स्वीकृति लिएका थिए । गत वर्ष भने नेपालको सरकारी क्षेत्रमा काम गर्न सबैभन्दा बढी ४ सय ३२ जनाले विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।

नेपालका काम गर्नकै लागि अमेरिका, आयरल्यान्ड, जर्मनी, क्यानडा अस्ट्रेलिया, जापानलगायतका ५५ भन्दा बढी देशका नागरिकले श्रम स्वीकृति लिएको देखिन्छ । यसमध्ये पनि महिलाको संख्या १ सय ५९ र पुरुषको संख्या १ हजार ६५ रहेको देखिन्छ । आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्म क्रमशः ९ सय ८४, ७ सय १९, २ हजार २३, १ हजार ४ सय ७२ / १ हजार ९ सय ७२ जनाले श्रम स्वीकृति लिएकोमा गत आवमा मात्र ६४८ जनाले नवीकरण गरेर पुनः श्रम स्वीकृति पाएको देखिन्छ । कारोबार दैनिकमा खबर छ। 

तपाईँको मत