विश्व

अत्यधिक वर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु, दशौँ हजार प्रभावित

  • ११ जेठ शुक्रबार, २०७५ | २०:२३:०० मा प्रकाशित

कोलम्बो । श्रीलङकामा आएको अत्यधिक मनसुनी वर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ । 
वर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन् । 

केन्द्रका प्रवक्ता प्रदीप कोडिप्पीलीले अत्यधिक बर्षाका कारण नराम्रो अवस्था आउन सक्ने पूर्वानुमान गरिएको बताउँदै घटनास्थलमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र उद्धारकर्मीहरुको टोली खटाइएको जानकारी दिए । 

उत्तरी र दक्षिणी श्रीलङ्काका प्रभावित ठाँउहरूका झण्डै चार हजार घरहरुमा पूर्ण तथा आंशिक क्षति भएको बताइएको छ । 
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका थिए ।  
मौसम पुर्वानुमान विभागले पनि देशभरी ठूलो वर्षा हुने भविष्यवाणी गरेको थियो । श्रीलङ्कामा हरेक वर्ष अत्यधिक वर्षाका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । 
गत वर्ष वर्षाका कारण आएको बाढी पहिरोमा परी २०० भन्दा बढीको मृत्यु भएको थियो भने ७८ जना बेपत्ता भएका थिए । रासस/सिन्ह्वा

तपाईँको मत