दृष्‍टिकोण

वाम सरकारको “मधुमास”, कसले के भने !

प्रायः दलकाे एउटै गुनासाे, कुरा भयाे काम भएन

काठमाडौँ । आज वाम सरकारले १०० दिन, ‘हनिमुन’ अर्थात ‘मधुमास’मनाएको छ । हनिमुनसँग धेरैकुरा जोडिएका छन् विश्वमा । प्रेममा मात्र नभएर आज यो शब्दले प्रशासन र प्रगतिलाईपनि जोडेर हेरिन्छ । विषेशगरी ‘बिहानीले गर्ने दिनको संकेत’का अर्थमा लिने गरिन्छ, हनिमुनलाई ।

चुनावताका सबै राजनीतिकदलका घोषणापत्रहरु राम्रै थिए । त्यसलाई पल्टाएर केही अंक हेर्ने दिन पनि हो आज भन्दा फरक नपर्ला । प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबार प्रवेश गरेको आज सय दिन पूरा भएको छ। 

उपलब्धि

  1. दुई घटक एउटै पार्टी नेकपामा रूपान्तरित हुनु 
  2. भारतसँगको सम्बन्धमा सुधार 
  3. अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यास 
  4. रक्सौल(काठमाडौं विद्युतीय रेल परियोजना सम्झौता र नेपाल भारत जलमार्ग सम्झौता 
  5. चीनसँगको सम्बन्धलाई आफ्नो प्राथमिकतामा राख्नु
  6. काम नभएपनि ‘सुखी नेपाली समृद्ध नेपाल’ नारालाई दीर्घकालीन उद्देश्यका रूपमा तय गर्नु ।

चुनौती 

  1. ‘संघीय संरचनाअनुसारका कानुन बनाउनुपर्ने, संसदले आप्mनै नियमावली बनाउने जस्ता काममा सरकारको ध्यान जाननसक्नु । 
  2. भ्रष्टाचारको मामिलामा भने अनुसारको नतिजा नदेखिनु । 
  3. भाषण र घोषणाको वाढी
  4. तत्काल राहत पुग्ने काममा चासो नदेखिनु, महँगी नियन्त्रण गर्न नसक्नु ।

कसले के भने !

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

सरकारका सय दिनलाई नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सय दिन दर्जन विसंगति भनेर बताएका छन् । 

शुक्रबार प्रवक्ता शर्माले सरकारको मधुमासलाई निरुत्साहित ढंगले टिप्पणी गर्न नचाहने बताउँदै सकारात्मक कुरामा साथ रहने बताएका हुन् ।

उनले सरकारको इच्छाशक्तिमाथि प्रश्न गर्दै राम्रा कामलाई सहयोग गर्ने तर कमिकमजोरीको लागि सँधै खबरदारी गर्ने बताए ।

सांसद पदको सपथ नगरि प्रधानमन्त्री हुने, भगवानको नाममा देशको नाममा विसंगति, उपधार २ को ख बमोजिम राष्ट्रपतिको गल्ति, सरकारको गल्ति, अतिशक्तिले अतिभ्रष्ट, संघीयता र शक्तिको खिल्ली, संविधान संशोधनमा दहिचिउरे व्यवहार, सत्ताको बार्गेनिङ, स्वेतपत्रको झुट,न्यायलयलाई गरेको अन्याय, निर्वाचन भएको यतिका दिन वित्दापनि कर्णाली बाहेक अन्य प्रदेशको नामाकरण नहुनु, बजेट कार्यान्वयन गर्न नसक्नु, भने अनुसारको राष्ट्रवाद प्रदर्शन गर्न नसक्नु, कर्मचारी प्रशासनलाई स्खलित गराइनु, मनोवल गिराइनु, सगरमाथाको जत्तिकै उचाइ लिएको महँगी नियन्त्रण नगर्नु लगायतका विसंगतिलाई उल्लेख गरेका छन् ।

नीति छ कार्यक्रम छैन भन्दै प्रवक्ता शर्माले सरकारलाई नराम्रो काममा खबरदारी गर्ने प्रतिपक्षी दलको भूमिका निरन्तर रहने बताए ।

राष्ट्रिय जनता पार्टीका महासचिव केशव झा
हनिमुनको सन्दर्भमा राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले सरकारले सय दिनलाई गफ गरेर सिध्याएको बताएका छन् । 

उनले भने “यत्रो दुइतिहाइ मत भएको दल सरकारमा हुनु तर स्रोतखोज्न र उपयोग भन्दापनि हावादारी गफमा हिँड्नु हाँस्यास्पद रहेको छ ।”

महासचिव झाले यो सरकारले शेयरबजार ध्वस्तबनाएको, कर्मचारीलाई मनाउननसकेर उल्टै निरंकुश शैलीमा निरुत्साहित गरेको, प्रदेशको अधिकारलाई केन्द्रबाट अंकुश लगाएको, राजनीतिक स्थिरता संविधान संशोधनको मुद्धामा गम्भीर नभएको, सुशासन कायम गर्न नसकेको उल्टै सरकार नै व्यापारी भएको आरोप लगाएका छन् । 

उनले भने “यदी सरकारले भ्रष्टाचार न्यूनिकरण गर्न खोजेको हो भने मुख्य ठाउँ बन्द गर्न सक्नुपर्यो नी,अनि न सुशासन कायम हुन्छ ।” भन्दै सय दिनको उपलब्धी भनेको एमाले माओवादीको एकतालाई मात्र भएको बताए ।

महासचिव झाले सरकार काम भन्दापनि “सेलिब्रेटी” बन्न लागेको आरोप लगाउँदै यदी यहीअवस्था हो भने जनता आफैँ सडकमा ओर्लिएर सरकार ढाल्छन् ।

राजु नेपाल (नयाँ शक्ति पार्टी कार्यालय प्रमुख)
नेता नेपालले भने — जुन गड्गडाहटका साथ चुनावपछि नेताहरु आउनुभएको थियो त्यो धरातलमा देखिएन । हल्लीखल्ली हामी जनतालाईपनि मन पर्ने बानी हुनथाल्यो त्यसैको पछाडी दौडने भयौँ । तर, सय दिनमा ५ वर्षको खाका कोरिनुपथ्र्यो वा सुरुवात हुनुपथ्र्यो त्यो देखिएन । जनता गाँस, वास, कपास कसरी टार्ने भन्ने अवस्थामा गफ बढी हुने कुराहरुमा सरकार हिँड्दा काम गरेको देखिएन । सरकारका नीति तथा कार्यक्रमहरु सकारात्मक भएपनि मुर्त देखिँदैन ।

उनले भने “भन्नलाई त सरकारका सकारात्मक कुराहरु भइरहेको भनिएपनि स्थाई सरकार भनेको कर्मचारीतन्त्र भएकोले निरन्तर काम कारवाही मात्र भएका हुन् । यसमा नौलो केहि भएको छैन, हल्लिखल्ली मात्र हो । उखान टुक्का पिट्नु र काम गर्नु फरक कुरा हो, सरकार पहिलोमा मस्त छ ।”

नेपाली काँग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महत
नेपाली काँग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले वाम सरकारको सय दिनले राम्रो संकेत नगरेको बताएका छन् ।

उनले भने “कम्युनिष्ट गठवन्धनका संकेतहरु सकारात्मक छैनन् । वहाँहरु कानुनी शासन भन्दापनि दुइतिहाइ नजिकको दम्भमा सम्पूर्ण अधिकारहरु प्रधानमन्त्री कार्यालयमा राख्ने तयारीमा हुनुहुन्छ, त्यो शुभ होइन ।” 

डा. महतले सरकार आउँदा जुन राष्ट्रियताको कुरा लिएर आएको थियो त्यो धरातलमा नदेखिएको बताउँदै सरकार, तिनका क्रियाकलाप र अभिव्यक्तिहरुलाई गम्भीर रुपमा लिनुपर्ने बताए ।

“यो सरकारले कानुनलाई लत्याएको छ । सम्पूर्ण कुरा घोषणामात्र भएका छन्, प्रक्रियालाई लत्याएको छ । यस्तो पाराले राष्ट्रियताको सम्बन्धमा देखिएको चिच्चाहट सत्ताको रुपमा मात्र लिएको स्पष्ट हुन्छ । फेरी लोकतान्त्रिक संविधानमाथि प्रहार, नाराका दोब्बर आर्थिक वृद्धि व्यवहारभन्दा टाढा छ ।” उनले भने ।
कुराकानीमा उनले वर्तमान सरकार नारावादी भएको बताउँदै दुइतिहाइको अभिमतलाई जुन ठाउँमा प्रयोग गर्नुपर्ने हो त्यसमा हिँड्न नसकेको बताए ।

उनले भने “यसरी एकलौटी सरकार जान खोज्यो भने हामी निरन्तर खबरदारी गर्नेछौँ, सडक या सदन दुबैमा खबरदारी हुनेछ । जनताले सबै कुरा बुझिसके, बुझ्दैछन् । यसकारण, समग्रमा भन्नुपर्दा सरकारको सयदिन नारामा वितेको छ ।” 

सुरेन्द्र राज गोसाइँ नेपाल मजदुर किसान पार्टी (प्रदेश सभा सदस्य)
सरकारको सय दिन अनउपलब्धिमूलक रहेको नेपाल मजदुर किसान पार्टीका नेता तथा प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाइँले बताएका छन् ।

नेता गोसाइँले भने “यो सरकार कुहिरोमा हराएको काग भएको छ, सिन्को सम्म भाँचेन ।” शब्दमा बखान गरेर नअघाउने सरकारले कम्तिमापनि खाका तयार गर्नुपर्ने त्यो सम्म नगरेको उनले बताए । “सरकारले रिबन काट्नमात्र व्यस्त छ, मुर्त काम खै भएको ? जनतालाई फकाउँदै ध्यानजति नितान्त व्यक्तिगत गरेका छन् ।” उनले भने ।

उनले देश नाम मात्रको संघीय भएको र केन्द्रबाटै हरेक कुराहरु गरेको आरोप लगाएका छन् । केन्द्र सरकारकै कारण प्रदेशले अधिकार नपाएको उनले गुनासो गरे । उनले भने “केन्द्रीय सरकारबाट केही झर्ला र खाउँला भन्ने दिन आयो, यही हो संघीय अभ्यास ?” भन्दै प्रश्न गरे ।

नेता गोसाइँले यो हनिमुनसम्म सरकार व्यक्तिगतमात्र भएको भन्दै सरकारले इमान्दारिता प्रस्तुत गर्न नसकेको टिप्पणी गरे । उनले भने “वर्तमान सरकारको गति हेर्दा लाग्छ आलस्यपूर्ण छ ।” 
देशले अल्छे होइन चुस्तता हो सुस्तता होइन भन्दै नेता गोसाइँले पूनर्निर्माण, वेथिति, अधिकारको केन्द्रीकरण, झुटको खेति विरुद्ध खुलेर सरकारको आलोचना गरे । २३ वटा वैठक बसेको नेमकिपाको हरेक वैठकले सरकारको आलोचना भएकोे बताए ।

उनले सरकारको समर्थनमा अब जनता नरहेको भन्दै यदी त्यो दम्भ छ भने वास्तविकता वुझ्न घरदैलो गरि हिँडेर बुझौँ सबै थाहा हुने बताए । भागवण्डा, पक्षपातले बोलीमा विकासलाई सीमित पारिएको नेता गोसाइँले जिकीर गरे । 

जनमोर्चा नेपालका केन्द्रीय सदस्य घनश्याम न्यौपाने
जनमोर्चा नेपालका केन्द्रीय सदस्य घनश्याम न्यौपानेले भने “नाम मात्रको संघीयता हुने भएकैले हाम्रो सुरुवातदेखिकै विमत्ति हो । पहिले सैद्यान्तिक रुपमा विरोध गरेका थियौँ अहिले व्यवहारिक रुपमै प्रमाणित भएको छ । सरकारको यो सय दिनमा केही कार्यक्रमहरु सकारात्मक छन, हुन त सयदिनमा सबै कुरा हेरिने होइन । समाजवादोन्मुख समाजको जुन कुरा गरिएको थियो त्यो सरकारको रणनीतिमा परेको छैन ।”

सिन्डीकेट, तस्कर समाउने कुरामा वाहिवाहि भन्नैपर्छ भन्दै सुशासनमा अझै सरकार चुकेको उनको ठहर छ । तर, अपेक्षा अनुसारको यो सय दिनमा काम गर्न नसकेको नेता न्यौपानेको दावी छ ।


 

तपाईँको मत