सडक/यातायात

पाँच वर्षभित्र तीन रेलमार्ग निर्माण अघि बढाइने

  • ७ जेठ सोमबार, २०७५ | १८:४७:०० मा प्रकाशित

काठमाडौं । सरकारले महत्वपूर्ण राष्ट्रिय राजमार्गलाई द्रुतमार्गका रुपमा स्थापित गर्ने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/२०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सडकको रेखांकन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई प्राथमिकता दिइने उल्लेख गरिन् । 

पाँच वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गरिने छ । चुरे तथा भित्रीमधेशका उपत्यकालाई आर्थिक तथा औद्योगिक कोरिडोरका रुपमा विकास गर्न पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिइने उल्लेख छ । 

पाँच वर्षभित्र स्थानीय तहका केन्द्रलाई कालोपत्र सडकले जोडिने छ । सरकारले नदी किनारमा सडक निर्माण गर्ने नीति पनि लिनेछ । मेची–महाकाली, काठमाडौं–वीरगञ्ज, रसुवागढी– काठमाडौं–पोखरा–लुम्बिनीसम्मको रेलमार्ग निर्माण अघि बढाइने भएको छ । कोशी, गण्डकी र कर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानूनी, नीतिगत र संस्थागत व्यवस्था गरिने भएको छ । 

पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्ने नीति सरकारको रहनेछ । पूर्वाधार विकासका लागि सार्वजनिक खरिद, जग्गाप्राप्ति, वन क्षेत्रको प्रयोग र वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी नीति, कानून र प्रक्रियालाई सरल बनाइने नीतिमा उल्लेख छ । 

तपाईँको मत