खेल

नेपाललाई पारामा ३ स्वर्ण 

  • ४ जेठ शुक्रबार, २०७५ | २०:२०:०० मा प्रकाशित

काठमाडौँ । दोस्रो काठमाडौँ अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन आज पारातर्फ नेपालले स्वर्णपदक हात पारेको छ । राखेपको कभर्ड हलमा आजदेखि शुरु भएको उक्त च्याम्प्यिनसिपअन्तर्गत पारातर्पmको विधामा नेपाली खेलाडीले तीन स्वर्णपदक हात पारेका हुन् । 

पाराको महिला ४८ केजीमुनि तौल समूहमा नेपालकी पलेशा गोवर्धनले स्वर्ण जितिन् । उनले फाइनलमा नेपालकै सीता भण्डारीलाई पराजित गरेकी हुन् । भारतकी भिना अरोराले सो विधामा कास्यपदक हात पारिन् । पुरुषतर्फ ४० केजीमुनिमा नेपालका सोम सुनुवारले नेपालकै दीपेश महतलाई हराउँदै स्वर्ण जिते । पाराको पुरुष ५८ केजीमुनि भारतका मोहम्मद हैदरले नेपालका गोविन्द थापालाई हराउँदै स्वर्ण पदक हात पारे । उनन्सत्तरी केजीमुनिमा नेपालका रामबहादुर अधिकारीले नेपालकै संघु भोटेलाई हराउँदै स्वर्ण पदक आफ्नो बनाउन सफल भए । 

त्यसैगरी फाइटतर्फको विधामा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । फाइटको पुरुष २१ केजीमुनिमा नेपालका अमन श्रेष्ठ र सुशान्त पाण्डे फाइनलमा पुगेका छन् । सेमीफाइनलमा अमनले अञ्जल पुन मगर र सशान्तले राजेन्द्र थामीलाई हराउँदै स्वर्णको यात्रा तय गरेका हुन् । पुरुष २५ केजीमुनिको सेमिफाइनलमा नेपालकै तिलक विकले नेपालकै दीपक वादीलाई तथा प्रशान्त पुन पुन मगरले नेपालकै प्रीतम ठकुरीलाई हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । 

त्यसैगरी पुरुष सिनियर (३९ वर्षमुनि) पुम्सेमा भारतका सरोज गुरुङले स्वर्ण, नेपालका आशिष चन्दले रजत तथा नेपालकै वीरबहादुर बम्जन र भारतका खुम्लिन्दिङ हमारले कास्यपदक पाए । यता २९ वर्षमुनि पुम्सेमा मलेसियाका अगिस्टन रुडीले स्वर्ण, नेपालका तिलक पुन मगरले रजत र बंगलादेशका सफ्यात नुरले कास्यपदक जित्न सफल भएको प्रतियोगिताका संयोजक बद्रीप्रसाद घिमिरेले जानकारी दिनुभयो । उन्नाइस वर्षमुनि पुरुष पुम्सेमा मलेसियाका टेरेन्ज योङ स्वर्ण, नेपालका राम गोले रजत तथा नेपालकै सुजन गुरुङ र दक्षिण कोरियाका बोसुक होङ कास्य जित्न सफल भए ।

उक्त प्रतियोगिताको उद्घाटन राखेपका सदस्य सचिव केशवकुमार विष्टले गर्नुभएको थियो । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, दक्षिण कोरिया, मलेसिया, इण्डोनेसिया, चीन (मकाउसमेत), अष्ट्रेलिया, सिंगापुर र अफगानिस्तानले प्रतिष्पर्धा गरिरहेका छन् । रासस

तपाईँको मत