अन्तर्वार्ता

दाहाल र ओलीजीको स्वीचले काम गर्दैन : काँग्रेस नेता चन्द्र भण्डारी

आगामी चुनावमा नेपाली काँग्रेस नै "नम्बर वान" भएर निस्कने

आज भर्खरै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । जोडिएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएकोे छ । नेपाल कम्युनिष्ट पार्टी अगाडिनै दर्ज भएकोले निर्वाचन आयोग जाँदै उनीहरुले अन्डरलाइन गरेर गएका थिए । अहिले सबै सदश्यहरु पार्टीको सपथ खान व्यस्त छन् । कार्यकर्तामाझ एकिकरणको खुसी साटासाट गर्दैछन् । थोरै खुसी छन त धेरैमा उत्साहजनक हेराइ छ । 

यहि परिवेशमा रहेर गाउँ सहर डट कमले नेपाली काँग्रेसका युवा नेता चन्द्र भण्डारीलाई सोधेका थियौँ,

१. नेकपा एमाले—माओवादी केन्द्रको एकिकरण भयो तपाइँलाई के लाग्छ यो टिक्ला ?
सर्वप्रथम कम्युनिष्टको विशेषता भनेको एकैठाउँमा बस्न नसक्नु नै हो । तर यो देशमा ब्रेकथ्रु भएको छ यो राम्रो पक्ष हो । किनकी धेरै पार्टी हुँदाको हालत तपाइँ हामीले भोगेकै हौँ । यसर्थ, दुवै पार्टीलाई एक हुनुभएकोमा शुभकामना भन्दै राम्रो गर्नुहोस भन्छु । 
तर, जहाँसम्म टिक्ने प्रश्न छ यो बहुत गम्भीर छ । पहिलो कुरा दुइ धारका दुइ अध्यक्ष नेताको चरित्र एकदमै फरक भएकोले दीर्घकालमा शंका छ । दोस्रो कुरा एकै ठाउँमा बस्ने बानी धेरै कम छ र तेस्रो कुरा दुबै नेता शक्ति र पैसाको निम्ति मरिहत्ते हुन्छन् । यी कारणले एकता टिक्नेमा अनेकन आशंकाहरु छन् । 

२. अब त ठूलो पार्टी बन्यो एमाले—माओवादी यो अवस्थामा काँग्रेसलाई त दिउसै टर्च बाल्नुपर्छ भन्छन् नी ?
यो उनीहरुको बुझाइ होला । हामीमाझ त्यस्तो छैन । विपक्षी, त्यहिँमाथि कम्युनिष्टहरु झुटको खेती गर्छन् । सबैलाई थाहा भएकै कुरा हो । तपाइँ काँग्रेसको मतसँख्या हेर्नुहोस न ! दिउसो टर्च बाल्नुपर्छ कि पर्दैन थाहा भइहाल्छ । यो कुरा चाहिँ “घायल सिँहलाई जिस्क्याएको” मात्र हो, सत्यता छैन । 

३. विपक्षी दह्रो हुँदा तपाइँहरुचाहिँ किन टुक्रा टुक्रा ?
गुट मौलाएको स्वभाविक हो तर गुट नभइ पार्टी क्रान्तिकारी पनि हुँदैन । यसको जस उच्च नेतृत्वले नै लिनुपर्छ । पार्टी नेतृत्वको शैलीले गर्दा देखापरेको गुट-उपगुटले पार्टीमा क्षति अवश्य गरेको छ । नेतृत्वकै कारण एमाले-माओवादीले फाइदा लिएका हुन् । पार्टीले युवालाई समेट्न सकेन जसका कारण हामीले नारा राम्रा भएरपनि अघिल्लो चुनावमा पराजय भोग्यौँ । यो कुरा अब उच्च नेतृत्वले राम्ररी बुझिसकेको छ, सुधार गर्न लागिपरेका छन् ।

४. अब कसरी अगाडि बढ्नुहुन्छ ?
हामीले सम्पूर्ण कुराहरु उच्च नेतृत्वमा पुर्याइसक्यौँ । नीति, नियम, विद्यान सबै कुराहरुका सच्याउनुपर्ने कुराहरुलाई कोडिङ् गरेर बुझाइसक्यौँ, भनिसक्यौँ । सुधार हुनेमा आशा गरेका छौँ । तर, नेतृत्वको अवस्था हेर्दा विश्वस्त भने हुन सकेका छैनौँ । 
यदी यी कुराहरुमा पार्टीले गम्भीर्यता लिएमा र सुधार भएमा हेर्नुस् आगामी चुनावमा नेपाली काँग्रेस नै "नम्बर वान" भएर निस्कनेमा शंका छैन ।
 

तपाईँको मत