प्रदेश सभा

प्रदेशसभामा पूर्व बजेट प्रस्तुत

  • ३ जेठ बिहीबार, २०७५ | १४:११:०० मा प्रकाशित

हेटौँडा । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५-७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गरेका छन् । 

आज बसेको प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा उहाँले २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सरकारको प्राथमिकताको विषयमा जानकारी दिए । मन्त्री ढुंगेलले प्रस्तुत गर्नुभएकोे आगामी वर्षको बजेटमा पहिलो प्रदेशसभा र सरकार भएको कारणले बजेट निर्माण तथा कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । बजेटले प्रमुख प्राथमिकतामा सुशासन, आर्थिक विकास, प्रदेश गौरवको योजना, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, मुख्यमन्त्री ग्रामीण सडक निर्माणलगायत विषयलाई उच्च प्राथमिकतामा राखेको छ । 

बजेटले अनुदानको विषयमा सरकार गम्भीर रहेको भन्दै परिणाममुखी अनुदान वितरण, सीमान्तकृत समुदाय लक्षित कार्यक्रमलाई समेत प्राथमिकतामा पारेको छ । शिक्षा, स्वास्थ्य, सांस्कृतिक धरोहरको विषय पनि बजेटमा महत्वका साथमा आएका छन् । बजेटले प्रदेश नं ३ को १३ जिल्लामा नै सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म कालोपत्रे, प्रत्येक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, विद्यालय, प्रदेशमा नमूना विद्युत्गृह, शीत भण्डारण कक्षको निर्माणलाई समेत प्राथमिकतामा पारेको छ । 

मन्त्री ढुंगेलले प्रदेश सरकारले औद्योगिकीकरणलाई बढवा दिँदै कृषिलाई अब निर्यातमुखी बनाउने गरी प्रदेश सरकारले योजना निर्माण गरेको बताए । उनले प्रत्येक मन्त्रालयले आफ्नो तहबाट प्राथमिकताका आधारमा ल्याएका योजनाको विषयमा गहन छलफल गरेर बजेट ल्याइनेसमेत उल्लेख गरे ।रासस

तपाईँको मत