विद्युत

लोडसेडिङ मुक्त नेपाल, पहिलो श्रेय “कुलमान”

अभियानको जति प्रशंसा गरेपनि कम हुन्छ

विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको ठूलो टिमले यो अँध्यारोलाई गतिवान कार्यका साथ काठमाडौँ हुँदै बैशाखबाट लोडसेडिङलाई सदाका लागि विदा गरेको छ । श्रेय सबैलाई जान्छ । अघिल्ला उर्जामन्त्री जनार्दन शर्मा, वर्तमान वर्षमान पुन तथा सम्पूर्ण समूह जो लागि परेका छन् । लोडसेडिङ मुक्त बनाउने अभियानको जति प्रशंसा गरेपनि कम हुन्छ । ताते टिम, बनाए उज्यालो । अखिर गर्दा के नहुँदोरहेछ भन्ने कुलमानको समूहले चरितार्थ गरिदिएको छ ।

पहिलो श्रेय कुलमान नै हुन् किनकी उनकै प्रवन्ध र योजनामा नविन योजनाले साथ दियो, फलत हामी न घर, न उद्योग सबैमा अँध्यारोलाई हटाउन सक्यौँ । साथ दिने ग्राहक जो विद्युत प्राधिकरणको सूचनालाई अबलम्बन गरे, समयको पावन्दीलाई ध्यानमा राखेर खपतमा लागे । एकातिर जेठबाट लोडसेडिङ हट्दैगर्दा क्षणिक त हैन भन्ने शंकाले जनमानसमा छाडेको भने चाहिँ छैन ।

विद्युतको अभावलाई किनेरै भएपनि पूर्ताल गरिदिए कुलमानले । यहि गतिमा अगाडि बढ्ने हो भने देश आफ्नै बिजुलीले उज्यालो हुन समय नलाग्ने देखिन्छ । इन्भर्टर र प्रशारण लाइनमा बढेको अनियमितताका कारण बढेको अँध्यारो देशलाई विकासे हातले जितेको छ । अब अचम्म नमान्नुस् हामी बैशाख अन्त्यसँगै लोडसेडिङबाट टाढा भइसक्यौँ । 

यदी कुलमान जस्ता अब्बल र जुझारु नेतृत्व प्राधिकरणले पाउने हो भने सँसार हसाँउने विद्युत उत्पादन हुने कुरामा दुइमत छैन ।  

६०० बढी खोलानाला बाह्रैमाश बग्ने यो मूलुकमा ८३ हजार मेगावाट विद्युतको सँभावनाको आवाजले कानको जालि फुटिसकेको थियो । त्यसमा पनि वैज्ञानिकताको आधारमा पनि करिब ४२ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने कुरा बच्चाले पनि बताइरहँदा हामी अँध्यारोको बास गर्न वाध्य थियौँ । करोडौँ हेक्टर भूमि सिचाइँ गर्ने प्रशस्त पानी हामीसँग छताछुल्ल छ । दरिलो स्रोतको यतिविघ्न भण्डार हुँदाहुँदैपनि उर्जाको अभाव र थप विस्तारमा सँकुचनका कारण कष्टकर जीवन बिताउनुपरेको सर्वविद्धितै छ । भएका आयोजनालाई युद्ध स्तरमा लैजाँदै नपूग विद्युत किनेरै भएपनि हामी अभाव मुक्त भयौँ ।

कुलमानले सामान्य विद्युत व्यवस्थापनमा देखाएको तदारुकताले काठमाडौँ लगायत देश पूरै २४ सै घण्टा दौडेको छ । शैलीले पुष्टि गर्छ की देश विकासमा कार्यकुशलता काफी छ भनेर । उनले कुनै विद्युत क्षमता बढाएका होइनन् तर कुशलतामात्र प्रस्तुत गरेका हुन् । काठमाडौँमात्र उज्यालो भएपछि उठेका प्रश्नहरु यसपटक पूरा भएका छन्, किनकी देश पूरै बलेको छ अहिले । चुहावट नियन्त्रण र भ्रष्ट गतिविधिलाई वाइपास गर्दै चालिएको यो कदमको अहिले चिया पसलदेखि ठूला कर्पोरेट हाउसमा चर्चा चलेको छ । जे छ अहिले देशभर कुलमानकै वाह—वाही छ । उनकै चर्चा जताततै छ ।

सामान्य विद्युत व्यवस्थापनले धेरैमा हाँसो र थोरैमा आँशु बनाएको छ । उत्पादन नबढेपनि ल्याएको हाँसोको पछाडि झन् उत्पादन बढेको खण्डमा देशले मुहार फेर्ने कुरामा अब दुइमत रहेन । यो अवस्था किन आयो भन्दापनि उत्पादनमा आएको अप्रगतिशिल तौरतरिकाले विद्युत विकासमा बाधैबाधा बाहेक केही प्राप्ति देखिएको थिएन । फलत् देशले अँध्यारोमा दशकौँ गुजार्यो । थोरैको चाहले समग्र राष्ट्रको प्रगतिमा ठेस पुगेको थियो । तर अहिले लगातार विद्युत आउँदा बहुलाउने अवस्था सृजना भएको छ, जुन अहिले देशले भोगिरहेको छ । यसबाटपनि अब बुझ्न र बुझाउन ढिला नगर्ने समय आएको छ, त्यो हो उर्जाको लगानीलाई कुनै हालतमा रोक्नु हुन्न । संकटकाल लगाएरै भएपनि अधिक काम गरेर समयमै योजनाहरुलाई सम्पन्न गर्नुपर्छ ।

पछिल्ला दुइ सरकारको खुकुलोपनको कारण आज हामी अँध्यारोलाई विदा गर्न सकेका छौँ । यस कार्यमा कुलमानले देखाएको व्यवस्थापन र सहकार्यलाई मान्नैपर्छ ।

स्रोतको परिचालन गर्न दातृनिकायको सहयोगमा सञ्चालित आयोजनाहरूमा विभिन्न क्षतिपूर्ति, बीमा र दलसम्बद्ध मजदुर सँगठनका अनेकन झमेलाले काममा अचाक्ली बाधा पुगेको बताएर धकेलिँदै गएको विद्युत सपना यसपटक किनेरै भएपनि पुगेको छ । जलविद्युत नीतिमा भएको त्रुटिका कारण र सरकारी रणनीतिमा अनुदार कार्यशैलीले बन्नलागेका र बन्दैगरेका परियोजनाहरूमा असहजता पैदा अहिलेपनि उत्तिकै छ । यहि कुरालाई मध्येनजर गर्दै सरकारले पछिल्लो समयमा राष्ट्रिय उर्जा सँकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी अवधारणापत्र तथा कार्ययोजना २०७२ घोषणा गरेपनि त्यसको प्रभावकारिता देखिएको थिएन । तर, पछिल्ला दुइ सरकारको खुकुलोपनको कारण आज हामी अँध्यारोलाई विदा गर्न सकेका छौँ । यस कार्यमा कुलमानले देखाएको व्यवस्थापन र सहकार्यलाई मान्नैपर्छ ।

वर्तमान समयमा प्राधिकरणबाट ३७२ मेगावाट, निजी क्षेत्रबाट २०२ मेगावाट, भारतबाट आयातित् ४३३ मेगावाट रहेकोमा १००७ मेगावाट विद्युत उपलब्ध थियो । जसमा २१० मेगावाट उद्योगमा अपूग रहेको र सबै जोडेर १२१७ मेगावाट देशलाई विद्युत आवश्यक रहेकोमा सो २१० पनि थपिएर देश लोडसेडिङ मुक्त बनेको हो । तेह्रौँ योजनाको राखेको लक्ष्य किनेरै भएपनि पुर्याइएको छ । अतः ऊर्जामा आत्मनिर्भर हुन जलविद्युत्का साना, मझौला तथा ठूला आयोजनाहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयनमा लैजान आवश्यक देखिएपनि त्यसतर्फ ध्यान कम पुगेको स्वीकार्नै पर्छ । आवश्यकताअनुसार सुधारका प्याकेजहरू ल्याएजस्तो गरिएपनि प्रभावकारीतामा चुकेको कारण उर्जाविकासमा कछुवाको गति देखिन पुग्यो । यो अवस्थामा चलायमान बनाउँदै उज्यालोको यात्रामा निस्के कुलमान ।

आज हामीले सम्पूर्ण आयोजनाहरूलाई सम्पन्न गर्न सकेको खण्डमा विश्वको राजा नेपाल बन्थ्यो र समृद्धिको आधारपनि यहि क्षेत्र बन्ने पक्का थियो । विकासको नाममा हुबहु अर्काको नमूना ल्याउने कार्यमा सहयोगी बनिदिँदा उर्जा क्षेत्र पनि पछाडी पर्यो र हामी पछाडी पर्न गयौँ । उर्जाको विकासलाई पाखा लगायौँ जुन सम्भव थियो । नेपालको लागि जलविद्युत् नै ऊर्जाको महत्वपूर्ण एवम् भरपर्दाे स्रोत भएपनि लगानी कम गर्यौँ अनि गरायौँ । समसामयिक ऐन, नियम, नीतिहरूको निर्माण तथा तिनको प्रभावकारी कार्यान्वयनका लागि सँस्थागत व्यवस्थाका बाबजुद जलविद्युत् उत्पादनको कुल सम्भावित क्षमताको कम मात्रामा मात्र उत्पादन हुनु यो कुराको दरिलो प्रमाण हो । 

२१० मेगावाट उद्योगमा अपूग रहेको र सबै जोडेर १२१७ मेगावाट देशलाई विद्युत आवश्यक रहेकोमा सो २१० पनि थपिएर देश लोडसेडिङ मुक्त बनेको हो ।

यसका बाबजुद पनि १४ औँ योजनाले जलविद्युत् क्षमता २,२७९ मेगावाट पुगेको हुने, २,१५० मेगावाट क्षमताका विद्युत् आयोजना निर्माण कार्य सुरु भएको हुने, ४०० कि.मि. नयाँ प्रसारण लाइन निर्माण भएको हुने, विद्युत् चुहावट २१ प्रतिशतमा सीमित भएको हुने, राष्ट्रिय विद्युत्प्रणालीबाट विद्युत् सेवा प्राप्त गर्ने जनसङ्ख्याको अनुपात ७० प्रतिशत पुगेको हुने, १,५०० कि.मि. ३३ के.भि. प्रसारण लाइन र ४,५०० कि.मि. ११ के.भि. प्रसारण लाइन विस्तार गरिएको हुने, राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् सेवा पुग्ने थप घरधुरी सङ्ख्या ७ लाख ५० हजार पुगेको हुने र प्रतिव्यक्ति विद्युत् खपत १६० कि.वा. घण्टा पुगेको हुने अपेक्षा गरेको छ जुन स्वागतयोग्य छ । तर सरकारले यो अपेक्षा पुरा गर्न (चाकडी गरेको होइन) कुलमान र अब्बल योजनानै चाहिन्छ । वर्तमान जस्तै रफ्तारमा कामगर्ने टिम चाहिन्छ अनिमात्र किनेको विद्युत फिर्ता गर्दै आफ्नै उत्पादनबाट देश उज्यालो हुनेछ ।

तसर्थ, निर्माणाधीन जलविद्युत आयोजनाहरूलाई जतिसक्दो चाँडो सम्पन्न गर्ने र भर्खरै सुरु गरिएका आयोजनाहरूमा अवरोधको वातावरण हुन नदिइ कामलाई अगाडी बढाउनुपर्ने देखिएको छ । झोलामा खोला बोक्नेको अन्त्य गर्नु जरुरी छ । त्यस्तै विदेशी ठुला कम्पनीहरू जो नेपालका जलश्रोतमा लगानी गर्न चाहन्छन, उनीहरूलाई हदैसम्मको लचकतामा आयोजनामा समावेश गराई भावी रणनीतिमा जुट्नुपर्ने देखिएको छ । 

भएका नीति र कानुनमा आधुनिक तरिकाले परिभाषित गर्दै अबको योजना बनाउन ढिलाइ गर्नुहुन्न । यसको लागि कुलमान जस्ताको टिमलाई आफ्नै स्पीरिटमा काम गर्न दिनुपर्छ । भनिएका योजनाहरूलाई फास्टट्रयाकबाट सम्पन्नतर्फ पाइला चाल्नुपर्छ । यसो गर्न सकेमात्रै जलविद्युतको विकासबाट देशको परनिर्भरतामा कमी आई उर्जा विकासमा विश्वमा नमूना राष्ट्र बन्ने ग्यारेन्टी गर्न सकिन्छ । मात्र जलश्रोतको भण्डार कोट्याएका मात्र छौँ, यदी कुलमान जस्ता अब्बल र जुझारु नेतृत्व प्राधिकरणले पाउने हो भने सँसार हसाँउने विद्युत उत्पादन हुने कुरामा दुइमत छैन ।  

रूद्रप्रसाद भट्टराई

तपाईँको मत