प्रदेश सभा

सांसदले लगे १ करोड ५५ लाख

  • ३१ बैशाख सोमबार, २०७५ | ०७:४३:०० मा प्रकाशित

पोखरा । प्रदेश सांसदले पारिश्रमिक तथा सेवा सुविधाका लागि वैशाख मसान्तसम्म १ करोड ५५ लाख रुपैयाँ लगेका छन्। प्रदेशसभा गठन भएको मितिले उनीहरूले पाउने पारिश्रमिक तथा सेवासुविधा बापतको रकम भुक्तानी गरिएको संसद् सचिवालयको लेखा शाखाले जानकारी दिएको छ। प्रदेशसभा गठन भएको मिति २०७४ माघ ५ देखि वैशाख ३१ सम्म गरि दुईपटक सेवासुविधाको रकम भुक्तानी भएको छ।

सचिवालयका लेखा अधिकृत दुर्योधन गिरीका अनुसार माघदेखि चैतसम्मको पारिश्रमिक ६५ लाख ५६ हजार पाँच सय ९४ र वैशाखसम्मको सेवासुविधा बापत ८६ लाख ३३ हजार एक सय २ रुपैयाँ सांसदहरूको सेवासुविधामा खर्च भएको छ। यसमा वैशाख महिनामा सांसदले पाउने पारिश्रमिक पनि समावेश गरिएको छ।

प्रदेशसभाका सदस्यहरूको सेवासुविधासम्बन्धी विधेयक पारित भएपछि उनीहरूले पाउने पारिश्रमिक र सेवासुविधाको टुंगो लागेको थियो । सोही अनुरूप नै सांसदहरूको पारिश्रमिकको रकम भुक्तान गरिएको उनले जानकारी दिए। तर, प्रदेशसभा सदस्यहरूलाई भुक्तानी गरिएको रकम भने फरक रहेको छ। प्रदेशसभाको सपथ खाएको मितिले भुक्तानी दिईने भए तापनि कुल ५९ सदस्यहरु मध्ये सरकारका ७ जना मन्त्रीहले प्रदेशसभा सदस्य रहँदाको दिनसम्मको मात्र पारिश्रमिक पाएका छन्।

प्रदेशसभाका सभामुख र उपसभामुखसहित ५२ जनाको मासिक पारिश्रमिक तथा सेवासुविधामा मात्रै मासिक २३ लाख ९८ हजार रुपैयाँ खर्च हुने गरेको छ।

सरकारले वित्तीय समानीकरण अनुदानअन्तर्गत पठाएको रकमबाट प्रदेशसभा सचिवालयलाई ८ करोड ९५ लाख रुपैयाँ प्रशासनिक तथा एक करोड ५ लाख पूँजीगतसहित कुल १० करोड रुपैयाँ विनियोजन गरेको थियो।

प्रदेश सरकारले ल्याएको चालु आवको बाँकी अवधिको बजेटमा भने सचिवालयलाई १० करोड १६ लाख ९४ हजार चालु र ३ करोड ३० लाख ४० हजार पुँँजीगत बजेट विनियोजन गरेको छ। हालसम्म सचिवालयले २ करोड २५ लाख १९ हजार रुपैयाँ खर्च गरिसकेको जनाएको छ। नागरिक दैनिकमा खबर छ । 

तपाईँको मत