स्वास्थ्य

दाङमा क्षयरोगी बढे

  • ३० बैशाख आइतबार, २०७५ | १०:३०:०० मा प्रकाशित

तुलसीपुर । दाङमा वितेको १० महिनाको अवधिमा ९४५ जना क्षयरोगका बिरामीहरु फेला परेका छन् ।  जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार बढेका बिरामीसँगै हाल जिल्लामा एक हजार ३०० जना क्षयरोगका बिरामीले डट्स प्रविधिबाट उपचार गरिरहेको जनस्वास्थ्य दाङका अधिकृत डम्बरबहादुर कँवरले जानकारी दिए  । उनका अनुसार जिल्लाका विभिन्न शहरबाट बर्षेनी नयाँ बिरामी थपिने गरेका छन् । 

डट्स प्रविधिबाट बिरामीलाई ६ महिना सम्मको उपचार हुने भएकाले पुराना बिरामी निको हुँदै जाने र नयाँ बिरामी थपिँदै जाने भए पनि बर्षेनी एक हजार २०० को संख्याभन्दा पनि बढी बिरामी उपचारका लागि थपिने गरेको पनि अधिकृत कवँरले जानकारी दिए । उनका अनुसार यस रोगबाट प्रायः २५ देखि ५० वर्षसम्म उमेर समूहका मानिस बढी संक्रमित हुने गरेका छन् । 

गत आव ०७३-७४ मा दाङमा एक हजार २०० जना क्षयरोगी भेटिएका थिए भने यस वर्षको १० महिनाको अवधिमा ९४५ बिरामी थपिएका छन् । बढ्दो शहरीकरण, मानिसको बढी आवत जावत हुने र तिनीहरुको श्वासप्रश्वासका कारण जिल्लामा क्षयरोगी बढेको जनस्वास्थ्य कार्यालय दाङको तथ्याङ्कले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी बिरामी घोराही बजार, त्यसपछि तुलसीपुर, नारायणपुर, देउखुरीको लालमटिया र सिसहनीया बजार क्षेत्रमा भेटिने गरेको पनि जनस्वास्थ्य अधिकृत कँवरले जानकारी दिए । बिरामीले नियमित रुपमा औषधिको डोजको कमीले गर्दा समस्या हुने गरेको छ । जिल्लामा पलमोनरी क्षयरोगी बढिरहेका छन् ।रासस

तपाईँको मत