कला

कविता : मै छोरी अप्जसी

मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल
काम लागे भाँडो नलागे चाहीँ फाल।

नबोलूँ भने लाटी घुसघुसे
बोलूँ त हजुर छुसी दुर्मुखे
नहांसूँ भने कालान्द्री रुन्ची
हासूँ त हजुर बेस्या पातर्नी
मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल।

नखाऊँ भने ठगुवा तुही
खाँऊँ त हजुर लोभी घिचुवी
नलाऊँ भने बैज्जती पाखी
लाऊँ त हजुर नक्कली स्वाँगी
मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल।

दया नराखी जे गाली गर
घर्ती हो छोरी सहन्छु तर
म नै हुँ सृष्टी संसार बाँघ्ने
दुख र सास्ती मनैमा राख्ने
कर्मैले ठगेको भनेर पार्छौ दास
यै छोरी नभए रोकिन्छ तिम्रो सास।

(नयाँ क्षितिजको खोजी-२०६६,कविता सङग्रहबाट)

तपाईँको मत