कला

लघुकथा : मोबाइलबाट सुविधा

  • होम सुवेदी
  • २९ बैशाख शनिबार, २०७५ | १०:०२:०० मा प्रकाशित

बेला बेला मोबाइलमा उनी मुसुक्क पनि गर्थे र फटाफटी आफ्ना अम्ला चलाएर अर्को मुस्कानका लागि पर्खिएजस्तो गर्थे ! नजिकै बसेर उनकी पत्नी स्वेटर बुनिरहेकी थिइन् र उनका पतिको यो दशालाई निकै गम्भीर रुपमा हेरिरहेकी थिइन् । यो उनका पतिको नित्यकर्म जस्तै भएको थियो । उनी भन्दा पनि मोबाइल प्यारो हुन थालेको थियो । केही कुरा भन्न खोज्दा उनका पति यसो “हाँ हुँ !” मा टारिदिन्थे र ध्यान उही मोबाइलमा पुगाउँथे । कुनै बेला ता अलिक झर्कन्थे पनि । यसैले सविता अलिक होसियारीका साथ बोल्दथिन् । अहिले भने अलिक हिम्मत गरेर सेधिन् “कसका साथ कुरा चलिरहेका छन् हजुरका ?”
“कोसँग हुनु साथीहरुसँग नि ।”
“तिनीहरुसँग कुनै दिन भेटघाट पनि भा छ हजुरको ?”
“के हुनु हाउ भेट ।”
“अनि यति सारो तन्मय र हाँसोका साथ चलिरहेको छ त कुराकानी ? नचिनेकासँग यसरी हुनसक्छ र ?”
“किन नहुनु ? तिमीलाई के थाहा ? केही काम छ भने भन है फेरि म यता लागेर बित्ला नि काम ।”
“केही पनि काम छैन । सकें अघि नै । एक कुरा भन्नु त ?”
“के कुरा हो सोध न ?”
“अनि यहाँ हजुरका महिला साथीहरु पनि ता होलान् नि है ।” बडो साधारण र नजाने जसरी उनले सोधिन् ।
“छन् नि किन नहुनु । यसो गफगाफमै साथी भइन्छ । अनि अलिक नजिक हुन पुगिन्छ । एकापसमा चिनाजानी हुन्छ । यही छ फेसबुकको सुविधा !”
“मलाई पनि अब मोबाइल किनिदिनु न त !
“नकराउ न यहाँ कति मजाका कुरा चलिरहेका छन् । ध्यान नै यिनले कता पुगाइदिइन् । छि यो मान्छे पनि कस्ती छे भने नि...............”
“मेरो इच्छा पुरा गर्नुहुन्छ ?” फेरि सोधिन् ।
“के हो फेरि । पुगाएकै छु नि । भन के हो । के चाहियो ?”
“मलाई पनि मोबाइल किनेर ल्याइदिनू !”
“लु हुन्छ हुन्छ ल्याइदिन्छु । तर यसको तिमीलाई के काम ?”
“अरु काम के छ र मेरो । यसबाट च्याटिङ गरेर भए पनि मसँग अलिक खुलेर कुराकानी ता गर्नु हुन्छ होला नि मोबाइल भएपछि । त्यसै कारण ल्याइदिनु भनेकी !”
“हँ...........?”

तपाईँको मत