सुतेर सफलता
- २० बैशाख बिहीबार, २०७५ | १७:०२:०० मा प्रकाशित
“थाकेको मस्तिष्कले राम्रो योजना बनाउन सक्तैन, पहिला सुत अनि योजना बनाऊ ।”
वाल्टर रिस्च
खानपान, शारीरिक व्यायाम र निद्रा स्वस्थ जीवनशैलीका त्रि-खम्बा मानिन्छन् । यी तीन पक्षमध्ये खानपान र शारीरिक व्यायामका बारेमा व्यापक छलफल गरिन्छ र तिनका बारेमा बुझ्न खोजिन्छ । तर, निद्राका बारेमा व्यक्तिगत र सामाजिक रूपमा पनि त्यति धेरै छलफल हुँदैन । प्रसंग कोट्याइहालेपनि अल्छेले अल्छे कुरा गर्छ भनेर टार्ने गरिन्छ ।
अब भने परिस्थिति बदलिँदै छ । निद्राको महत्वका बारेमा मानिसहरू सचेत हुन थालेका छन् । निन्द्राका बारेमा चर्चा हुन थालेको छ । निद्राका बारेमा चिकित्सा विज्ञानमा भइरहेका खोज तथा अनुसन्धानहरूले हाम्रो बुझाइलाई थप फराकिलो बनाइरहेको छ । यस कुराले आम मानिसमा सुताइको महत्वलाई थप प्रष्ट्याउँदै लगेको छ । यसभित्रको जिज्ञासालाईपनि उजागर गर्दै गएको छ ।
किन सुत्ने ? यी हुन फाइदाहरु
पर्याप्त निद्राले के फाइदा गर्छ हामीलाई थाहा नहुन सक्छ । यो जिज्ञासा सबैमा उठ्नु स्वाभाविक पनि छ । तर, चाहिने मात्राको निद्राका फाइदा अनि निद्रा नपुग्दाका बेफाइदा हामीले व्यक्तिगत रूपमा पनि अनुभव गरेका हुन्छौं । राति राम्रोसँग सुत्न पाउँदा अनुभव गरिने ताजापन र काम गर्नका लागि प्राप्त हुने ऊर्जा र फूर्तिका बारेमा हामी सबैलाई अनुभव छ, भोगेकै कुरा हो ।
वैज्ञानिकहरूले पर्याप्त निद्रा पुग्दा पाइने फाइदाका बारेमा अध्ययन गरेका छन् । मानिस र अन्य जनावरको अध्ययनबाट वैज्ञानिकहरूले निद्राका फाइदाका बारेमा यसरी प्रस्तुत हुन्छन् ।
- रोग प्रतिरोधात्मक क्षमता,
- पाचनलगायत शारीरिक प्रक्रिया,
- स्मरण, सिकाइ,
- अन्य महत्वपूर्ण मनोवैज्ञानिक र शारीरिक प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्छ ।
कति सुत्ने ? बैज्ञानिकहरु के भन्छन ?
अमेरिकाको नेसनल स्लिप फाउन्डेसन वेबसाइटअनुसार ‘स्लिप हेल्थ’ नामक अनुसन्धानमूलक पत्रिकामा जनाइएअनुसार सुत्ने उमेर र घण्टालाई यसरी उल्लेख गरिएको छ ।
४—११ महिनाले १२ देखि १५ घण्टा
१—२ वर्षले ११ देखि १४ घण्टा
३—५ वर्षले १० देखि १३ घण्टा
६—१३ वर्षले ९ देखि ११ घण्टा
१४—१७ वर्षले ८ देखि १० घण्टा
१८—२५ वर्षले ७ देखि ९ घण्टा
२६—६४ वर्षले ७ देखि ९ घण्टा
६५ वर्ष माथिले ७ देखि ८ घण्टा सुत्नु आवश्यक छ ।
कसलाई कति निद्रा आवश्यकता पर्छ भन्ने व्यक्तिको जीवनशैली र स्वास्थ्यमा भर पर्छ । त्यसैले कति सुत्ने भन्ने कुरा मानिसको उमेरका आधारमा मात्र होइन, जीवनशैली र कामको प्रकृति अनि तनावमा पनि भर पर्ने उक्त अनुसन्धानले बताएको छ । उमेरका अलावा शारीरिक सक्रियता, रोग, मोटोपनाजस्ता विषयमा पनि कति निद्रा पर्याप्त हुन्छ भन्ने निर्धारण गर्नुपर्ने हुन्छ । सोही फाउन्डेसनले उमेर समूहअनुसार मानिसले सुत्नुपर्ने समय यसरी सिफारिस गरेको छ ।
- सकेसम्म सुत्ने समय नबदल्नुहोस्
- सुत्नुअगाडि शरीरलाई आराम दिने तरिकाहरू अपनाउनुहोस्
- सुत्दा डसना, सिरानी र ओढ्ने वस्तु आरामदायी छान्नुहोस्
- सुत्ने कोठाको तापक्रम, आवाज र उज्यालो बनाउनुहोस्
- दैनिक शारीरिक व्यायाम गर्नुहोस्
- निद्रा बिगार्नेे चिजहरू जस्तै मदिराजन्य वस्तुहरूको सेवन नगर्नुहोस्
- लामो समय बस्ने काम नगर्नुहोस्
- सुत्नुअगाडि इलेक्ट्रोनिक उपकरणहरू बन्द गरेर सुत्नुहोस्
जे परेपनि निद्रालाई प्राथमिकतामा राख्नुहोस् । अरू दैनिक क्रियाकलापजस्तै शारीरिक आवश्यकताको दर्जामा राख्नुहोस् निद्रालाई । अरू सबै काम सकिएपछि मात्रै सुत्ने हो भन्ने मानसिकतालाई आजैबाट त्याग्नुहोस् । निद्रा पुर्याउनका लागि अरू क्रियाकलापलाई पछाडि सार्न बरु नहिच्किचाउनुहोस् । स्वस्थ र पर्याप्त निद्रा सफल र अनुशासित जीवनका लागि आवश्यक छ । र मात्र सफलता हाता लाग्न सक्छ ।
(हार्वड विश्वविद्यालयको डिभिजन अफ स्लिप मेडिसिन वेबसाइटको सहयोगमा ।)
प्रतिकृया दिनुहोस