गगन थापालाई दर्जन अभियोग

  • ८ बैशाख शनिबार, २०७५ | ०६:५१:०० मा प्रकाशित

अभियोग १ : तपाईं व्यक्तिगत प्रचार र ‘मिडिया स्टन्टबाजी’मा रमाउनुहुन्छ । प्रचारका लागि आफ्नै पार्टीको नीतिविपरीत पनि बोल्न पछि पर्नुहुन्न । तपाईंकै पार्टीभित्रबाट यो आरोप बेलाबेलामा लागिरहन्छ नि ?

पार्टी अनुशासनबारे म एकदमै सचेत छु । सबैभन्दा मुख्य कुरा भनेको पार्टी निर्वाचन र आन्दोलनमा होमिँदा पार्टीभित्र फरक मत, आफ्ना असहमति सबै थाती राख्नुपर्छ । त्यतिवेला पार्टीको अनुशासन सबै कुरा हो भन्नेमा म एकदमै सचेत छु । त्योभन्दाबाहेकको समयमा म धेरै हिसाबकिताब गर्दिनँ । म त्यस्तो खाले मान्छे पनि होइन । त्यसो गर्दै गर्दा अलिकति पार्टी अनुशासन उल्लंघन गरेको भन्ने लाग्छ ।

गएको १० वर्षको राजनीतिको निर्णयलाई मात्र सम्झेर हेर्ने हो भने बहुसंख्यक अवस्थामा म र मजस्ता पार्टीका साथीहरूले ‘यहाँनेर पार्टी उभिनुपर्छ’ भनेर उहिले भनेको कुरा पछि आएर लागु भएका छन् । त्यतिबेला सार्वजनिक खपतका लागि यस्ता कुरा गर्‍यो भन्ने पनि लागेको हुनसक्छ ।

तर, अलिकति पछि गएर सिंगो पार्टीपंक्तिले निर्णय नै गरेको छ, कहिलेकाहीँ रियलाइज पनि गरेको छ । हामीले भनेकै ठाउँमा पार्टी आइपुगेको छ तर, अलि ढिलो । ढिलो आउँदै गर्दाको गतिले व्यहोर्नुपर्ने क्षति पार्टीले व्यहोरिसकेको छ । हो, कहिलेकाहीँचाहिँ के लाग्छ भने हामीले कतिपय कुरा जुन बाहिर भन्छौँ, त्यसलाई बाहिर नभन्नुपर्ने हो कि ! पार्टीभित्र मात्र छलफलको विषय बनाउनुपर्ने हो कि ! तर, त्यस्ता कतिपय कुरा हाम्रो नियन्त्रणमा रहँदैनन् आजभोलि । पार्टीको केन्द्रीय समितिको बैठकमै भनिएका कुरा पनि पार्टीको आन्तरिक विषय मात्र बन्दैनन् । पार्टी एउटा सार्वजनिक संस्था पनि हो । म मेरो ब्रह्मले भनेको कुरा गर्दै गएको हुँ ।

अभियोग २  :  तपाईंमाथि कांग्रेसभित्रैबाट लाग्ने अर्को आरोप हो– गगन थापा महत्वाकांक्षी छन् । चाँडै सफल बन्ने र पार्टीको नेतृत्वमा पुग्ने इच्छा राख्छन् । त्यही स्वभावले उनले वेलावेला आफ्नै नेताविरुद्ध पनि धावा बोल्ने गर्छन् । नेताहरूलाई खुइल्याएर, असफल बनाएर आफू बलियो बन्ने विश्वास राख्छन् ।

मैले अघि पनि भनेँ, म पार्टीको एउटा अनुशासित सदस्य हुँ । पार्टी कमजोर भएर पार्टीको सदस्य बलियो हुन्छ भन्ने भ्रम पटक्कै पनि छैन । अझ नेपाली कांग्रेसजस्तो सांगठनिक संरचना भएको र सदस्यताको आधार भएको पार्टी बलियो र कमजोर हुने कुराचाहिँ धेरै हदसम्म पार्टी नेतृत्वको व्यक्तित्वसँग जोडिएको छ भन्ने कुरामा पनि म सचेत छु । पार्टीका निर्णयहरू उचित नलाग्दै गर्दाखेरि, बोल्दाखेरि वा निर्णय यस्तो हुनुपर्छ भनेर बोलेका कुरालाई धावाका रूपमा लिनुहुँदैैन । जहाँसम्म महत्वाकांक्षीको कुरा छ, त्यसबारे म एकदमै प्रस्ट छु । मैले आफ्नै राजनीतिक यात्राको सन्दर्भमा एउटा समयसीमा आफैँले तोकेको छु ।

विसं. २०९० पछाडि म क्रियाशील राजनीतिकर्मी भएर रहन्न । मसँग १४–१५ वर्षको समय अब एक्टिभ पोलिटिक्स गर्न बाँकी छ । त्यसो हुनाले पनि आफूसँग भएको क्षमता वा गर्न चाहेको कुरा पार्टीभित्र गरौँ भन्ने हतारो हुनु स्वाभाविक हो । किनकि, म १४–१५ वर्षपछि ५५ वर्ष पुगेको हुनेछु । त्यसैले मलाई राजनीति दैनिकीजस्तो नलागेको हो । म तीनपटक सांसद भएँ, अब हिँड्दै गर्दा ६ पटक हुँला । दोस्रोपटक केन्द्रीय सदस्य भएँ । पाँचौँपटक हुँला । मसँग त समय नै छैन । पार्टीमा आफूले जिम्मेवारी लिन चाहेको र दिन चाहेको कुरा समयले बाँधेको हुँदा त्यसभित्र छटपटी पनि होला । कतिपय साथीले महत्वाकांक्षीका रूपमा पनि बुझ्नुभयो होला, त्यसलाई इन्कार गर्नुपर्ने देख्दिनँ ।

अभियोग ३ : तपार्इं आकर्षक मुद्दा अगाडि सारेर युवालाई आकर्षित गर्न चाहनुहुन्छ, तर अरूलाई त्यसको केन्द्रमा आउन दिनुहुन्न, आफैँ केन्द्रमा बस्न रुचाउनुहुन्छ । त्यही भएर पछिल्लो समय विश्वप्रकाश शर्मादेखि चन्द्र चण्डारीसम्मका नेता तपाईंसँग टाढिए ।

यसलाई म ठाडै इन्कार गर्छु । सकेसम्म हाम्रो पुस्ताका साथीहरूले टिम बनाएर काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । यसमा म एकदम क्लियर छु । म त क्रस पार्टी त काम गर्नुपर्छ भनेर विश्वास गर्ने मान्छे, तपाईंले नाम दिएका साथीहरूलाई म त नेता मानेरै पनि जान्छु भनेर तयार भएको मान्छे हुँ । योभन्दा अघिल्लोपटक मेरो पुस्ताका मान्छेमध्ये जो भए पनि पार्टीको नेतृत्वमा आउने हिम्मत गर्नुहोस्, म तपार्इंहरूको झोला बोक्छु भनेकै हो ।

तर, कोही पनि आउनुभएन । यस्तो खालको परिस्थिति धेरैपटक आएको छ । जसको कारण बाहिरबाट हेर्दा एक्लै हिँडेकोजस्तो देखिने भयो । म टिममा विश्वास गर्ने मान्छे हुँ । सकेसम्म लो प्रोफाइलमा बस्ने कोसिस गर्छु । कहिलेकाहीँ बढी अपेक्षा भएका कारण मेरो प्रयास र इच्छाभन्दा पनि मैले अलि बढी स्पेस पाउने अवस्था आउँछ । टिममा काम गर्न सक्नुपर्छ भन्नेमा म सचेत छु । एक्लै काम गर्न सकिँदैन भन्नेमा विश्वस्त छु ।

अभियोग ४ : तपार्इं उपयोगवादी हुनुुहुन्छ । ०६२र६३ सालको आन्दोलनताका नरहरि आचार्यको साथ लिनुभयो । त्यसपछि क्रमशः सुशील कोइराला र शेरबहादुर देउवासँग नजिक हुनुभयो । पछिल्लो महाधिवेशनमा कृष्ण सिटौलासँग काँध मिलाउनुभयो । र, संसदीय दलको निर्वाचनमा प्रकाशमान सिंहलाई सघाउनुभयो । राजनीतिक उचाइ प्राप्त गर्दै जाँदा पुराना भर्‍याङ बनाएका वा सघाएका व्यक्तिहरूलाई छाड्दै जानुभयो ।

पार्टीको बृहत्तर अनुशासनको सन्दर्भमा म एकदमै सचेत छु । म एउटा लोयल पार्टी कार्यकर्ता हुँ । पार्टीको सीमाभन्दा बाहिर गएर कहिल्यै पनि सोच्दिनँ । मेरो ब्रह्मले यो ठीक हो भनेको कुरा गर्दै गर्दा म धेरै हिसाबकिताब गर्दिनँ । म आफ्नो बाटो आफैँ बनाउँदै हिँडेको हुँ । त्यसक्रममा कहिले कोसँग कुरा मिल्छ, कहिले कोसँग मिल्छ । त्यो हिसाबकिताब मिलाएर गरेको होइन । महाधिवेशनमा म आफैँ महामन्त्रीमा चुनाव लड्न गएँ । मैले त्यतिवेला भनेको थिएँ,

‘पार्टीको पहिलो पुस्ताका नेताहरूले विश्राम लिनुपर्छ, उहाँहरूलाई छाडेर जो आउनुहुन्छ, उहाँलाई म नेता मानेर जान्छु ।’ कृष्ण सिटौला आउनुभयो, उहाँसँग मिलेर चुनाव लडेँ । म उपयोग गर्ने भएको भए शेरबहादुर देउवाले सानदार ढंगले जितिरहेको वेला त्यहीँ रहेर अगाडि बढ्थेँ होला । सभापतिले अब पूर्ण रूपमा विश्राम नै लिनुपर्छ भन्दै गर्दा शेरबहादुर देउवासँग प्रकाशमान सिंहको ठाउँमा अर्को नेता लड्नुभएको भए म त्यहीँ जान्थेँ । १० वर्षदेखि म लगातार पार्टीको नेतृत्व परिवर्तनको पक्षमा छु । नेतृत्व हस्तान्तरण नहुँदा पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ भन्ने मेरो तर्क थियो, त्यो अहिले आएर पुष्टि भएको छ । अहिले सिंगो पार्टी एक ठाउँमा आइपुगेको छ । मैले उपयोग गरेको होइन, आफ्नो बाटो हिँडेको हो । हिसाबकिताब नगरी हिँड्ने क्रममा कहिले कोसँग, कहिले कोसँग जोडिन पुगेको मात्रै हो।

अभियोग ५ : तपार्इं फरक देखिन र बोल्न रुचाउनुहुन्छ । त्यस्तो गर्दा पार्टी निर्णय र नीतिको पनि वास्ता गर्नुहुन्न । पार्टी पूर्व हिँड्दा तपाई पश्चिम लाग्नुहुन्छ । पार्टीभित्र सधैंजसो संस्थापन पक्षभन्दा फरक कित्तामा उभिनुहुन्छ ।

यो सुनियोजित, सुविचारित होइन । पार्टीको नेतृत्व परिवर्तनको पक्षमा म रहेँ । पार्टीको बृहत्तर आबद्धताको आधारमा अनुशासनको सीमाभित्र रहेर निरन्तर रूपमा पार्टी सुधारको पक्षमा मैले आफ्ना कुरा राख्दै आएको छु । म एकदमै धेरै सोचविचार, हिसाबकिताब गर्ने भएको भए कसको पल्लाभारी छ, कसले कतिको पकड राख्छ, कोसँग लाग्दा तत्काल लाभ प्राप्त हुन सक्छ भन्ने जोडघटाउ गरेर बस्न सक्थेँ । म महामन्त्री लडेको वेला केन्द्रीय सदस्य मात्र लडेको भए सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुन्थेँ । ४० वर्ष नै नपुगेको मान्छे पार्टीको महामन्त्री आँक्ने भनेर धेरै साथीले भन्नुभयो । मेरो ठाउँबाट हेर्दा यो उमेरको कुरा मात्रै थिएन, पुस्ताको कुरा थियो । ०६२/६३ सालको आन्दोलनको प्रोडक्ट हौँ हामीहरू । एउटा राजनीतिक चेत छ हामीमा । यो राजनीतिक चेत भएको मान्छे नेपाली राजनीतिको निर्णय गर्ने ठाउँमा भएन भने पार्टी ठूलो दुर्घटनामा पर्छ । कोही न कोही जानुपर्छ भन्ने लाग्यो, म त्यो बाटोमा हिँडेँ । यो कुरा अरूलाई पनि लागेको थियो ।

हामी आन्तरिक अनौपचारिक छलफलमा हुँद्या धेरै साथीहरुको मेरो जस्तैकुरा हुन्छ । तर, जब हामी खुला हुन्छौँ, कतिपय साथीहरूलाई सीमाको कुरा लाग्ला, कतिपयले नाफाघाटाको हिसाबकिताब गर्नुभएको होला । म ०४८ सालदेखि नेपाली कांग्रेसको चुनावमा छु । सदस्य भएर, प्रचारक भएर, वक्ता भएर, उम्मेदवार भएर लाग्दा चारतारे झन्डा र रूख चिह्नबारे एक सेकेन्ड पनि अलमलिएको छैन । कतिपय साथीहरू रूख चिह्नसँग अलमलिएका छन् । कतिपय मान्छेहरू चारतारे झन्डासँग अलमलिएका छन् । तपार्इंहरूले बाहिरबाट हेर्दा उसलाई पार्टीप्रति एकदम लोयल देख्नुुहुन्छ । किनकि, उसले पार्टी नेतृत्वको कहिल्यै विरोध गर्दैन, पार्टी निर्णयको कहिल्यै विरोध गर्र्दैन । त्यस्तोभन्दा त मै ठीक छु भन्ने मलाई लाग्छ । मलाई पार्टीको इतिहाससँग जोडिन पाएकोमा गौरव छ, नेपाली कांग्रेसको सदस्य भएकोमा गौरव छ । पार्टीको झन्डाप्रति गौरव छ । रूख चिह्नको मूल्य र प्रतिष्ठाका लागि मेरो जीवन समर्पित छ । मेरा लागि पार्टी भनेको यही नै हो ।

अभियोग ६ :  तपार्इं आफ्नो स्वार्थ पूरा नहुँदा र अनुकूल वातावरण नबन्दा पार्टीभित्र र बाहिर आक्रामक रूपमा प्रस्तुत हुनुुहुन्छ । तपाईंलाई केही समयअघि सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता नियुक्त गर्न तयार भइसक्नुभएको थियो । विविध कारण पछि अर्को नेता प्रवक्ता तोकिनुभयो । प्रवक्ता भएको भए अहिले चर्को रुपमा उठाइरहेको पार्टी पुर्नगठनको मुद्दा उठाउनुहुन्थेन ।

मलाई पार्टी प्रवक्ता बनिदिनुपर्‍यो भनेर स्वयं पार्टी सभापतिले प्रस्ताव गर्नुभयो । मैले त्यही वेला उहाँलाई के भनेको हो भने मैले पहिलेदेखि नै मनमा लागेको कुरा भन्दै आएको हुँ, प्रवक्ताका लागि उपयुक्त म होइन भन्ने लाग्छ । त्यतिवेला सभापतिले ‘निर्वाचनको वेला छ, पार्टीलाई अप्ठ्यारो पर्न सक्छ, यस्तो वेला पनि जिम्मेवारी नउठाउने, आलोचना मात्र गर्ने, जिम्माचाहिँ नलिने’ भन्नुभयो । मैले ‘निर्वाचनको वेला सभापतिले जे जिम्मा दिए पनि लिन्छु । देशभरको कार्यक्रममा भाषण गर्नुपर्छ भने पनि तयार छु’ भनेँ । उहाँले भन्नुभयो, तर गर्नुभएन । त्यसबारे मैले एक ठाउँमा पनि भनिनँ । मेरो त्यो कर्तव्य थियो । मैले त्यतिवेला सूचनाहरू दबाएँ । त्यो सन्दर्भमा पार्टी सभापति कमजोर भएको देखेँ । पछि, मलाई बोलाएर ‘मैले गर्न सकिनँ’ भन्नुभयो । त्यसलाई मैले सहज रूपमा लिएँ । निर्वाचनपछाडि पार्टीको महासमिति बैठक हुनुपर्छ लगायतका जेजे मुद्दा उठाइरहेको छु, यी माग्नुपर्ने कुरा होइनन् । स्वाभाविक रूपमा हुनुपर्ने कुरा हुन् । यदि निर्वाचनको वेला प्रवक्ता दिएको भए सायद नरहरि दाइले जस्तै गर्थें होला । त्यतिवेला उहाँले एउटा पोजिसन लिएपछि पार्टीको प्रवक्ता छोड्नुभएको थियो ।

अभियोग ७ : तपाईं सम्झौतावादी हुनुहुन्छ । पार्टीको नीतिभन्दा नेता चाहिन्छ । त्यही भएर महाधिवेशनका वेला कृष्ण सिटौलासँग काँध मिलाउन पुग्नुभयो ।

महाधिवेशनभन्दा केही समयअघिदेखि मैले सार्वजनिक रूपमा हाम्रो पुस्ताबाट एकजना कोही न कोही पार्टीको पदाधिकारीमा जानुपर्छ भन्दै आएँ । सबैभन्दा बढी मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएर पाँच वर्ष काम गरेँ । अधिकांश केन्द्रीय समिति बैठकमा हामीले हात उठाएर बोल्नसमेत पाएनौँ । पार्टीका निर्णय पत्रिकामा पढेर थाहा पायौँ । अब हामीले हस्तक्षेप नगर्ने हो भने हामी कहीँ पनि पुग्न सक्दैनौँ । यसका निम्ति पार्टीको दोस्रो पुस्ताको नेता म अगाडि बढ्छु भनेर आउनुहुन्छ भने हामी साथ दिएर अगाडि बढ्छौँ भन्यौं । त्यो वेला मैले यो कुरा प्रकाशमान सिंहलाई भन्न गएँ, शशांक कोइरालालाई भन्न गएँ । चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा महामन्त्री लड्छु भनेर आउनुभएको भए, म साथ दिएर केन्द्रीय सदस्यमा उठ्थेँ ।

म एउटा मिसनमा गएको थिएँ । म त्यो मिसनमा काम गर्दै जाँदा अरू कोही पनि आउनुभएन । जम्मा कृष्ण सिटौला आउनुभयो । हामी समूह बनाएर चुनाव लड्यौँ । ०६२र६३ को आन्दोलनको पृष्ठभूमिबाट आएको व्यक्ति भएको हुनाले हामीलाई सजिलो भयो । त्योवेला कृष्ण सिटौलाको ठाउँमा शशांक कोइराला आउनुभएको भए, प्रकाशमान सिंह आउनुभएको भए उहाँहरूको टिमबाट चुनाव लडिन्थ्यो । कुनै योजनाअनुसार हामी चुनाव लडेका होइनौँ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल मात्र लड्नुभएको भए सायद म एक्लो हुन सक्थेँ । किनभने मैले आत्मादेखि गर्छु भनेर थालिसकेको थिएँ । वर्षौंदेखि प्लान गरेर महाधिवेशनमा प्यानल बनाएर लडेको होइन ।

अभियोग ८ :  देशभर भाषण गर्दा विकासका सपना बाँड्नुहुन्छ । तर, काठमाडौंको आफ्नै निर्वाचन क्षेत्रको विजोग देख्नुभएको छैन ।

यो गुनासो गर्न पाउने मेरो निर्वाचन क्षेत्रमा मतदाताको नैसर्गिक अधिकार हो । म उहाँहरूको सांसद भइसकेपछि उहाँहरूले भन्ने पनि मलाई हो । त्यसको जिम्मा पनि मैले लिनुपर्छ, म लिन्छु । म यतिचाहिँ भन्न सक्छु कि सांसद भएपछि आफ्नो निर्वाचन क्षेत्रमा स्रोतसाधनलाई पु¥याउने, सम्बन्धित निकायलाई झकझक्याउने सन्दर्भमा नेपालभरका कुनै पनि सांसदसँग मापन गर्ने यन्त्र नै बन्छ भने पनि म सबैसँग प्रतिस्पर्धा गर्न तयार छु । त्यसमा म अलमलमा छैन, त्यो मेरो ड्युटी हो । तर, मेरो क्षेत्रका मतदाताले परिणाम आएन भन्न पाउनुहुन्छ । एकैपटक धेरै स्रोतसाधन लिएर जान खोज्दा समस्या भएको छ । दोस्रो, गएको १५–२० दिनमा बाटोसँग मात्रै सम्बन्धित भएर ७ वटाजति बैठक गर्यौ । तर, हाम्रो निकायसँग त्यो क्षमता नै छैन, उनीहरू गर्न नै सक्दै सक्दैनन् । निजी क्षेत्र ९कन्ट्याक्टर०सँग पनि त्यो क्षमता छैन । ममा त्यो छटपटाहट छ । गराउने प्रयास पनि छ । म त यति धेरै भोगेको छु, त्यही भएर प्रधानमन्त्री बोलिरहँदा क्षमताको पाटो हेर्नुभएको छ कि छैन भन्ने लाग्छ । मान्छेको नियत ठीक बनाउन सकिन्छ, तर गर्न नसक्ने पाटोचाहिँ ठूलो समस्या छ । क्षमता छ कि छैन भन्नेबारे सोच्नुपर्छ ।

अभियोग ९ : फरक धारमा बोल्न रुचाउनुहुन्छ, तर बोलीमा नियन्त्रण राख्न सक्नुहुन्न । केही समयअघि ‘कांग्रेस सुकुम्बासीको पार्टी होइन’ भनेर भाषण ठोक्नुभयो, पछिल्लो समय ‘नेपालमा रेल किन चाहियो’ भनेर विकास योजनालाई नै चुनौती दिनुभयो ।

दुवै कुरा मैले बोलेको हुँ । तर, इन्ट्रेस्टिङ कुरा के हो भने झापाको अर्जुनधाराको एउटा कार्यक्रममा बोलेको एक घन्टा लामो भाषणको एउटा सानो एक मिनेटको अंश साथीहरूले यहाँ ल्याएर बजाउनुभयो । मैले सधैँभरि भन्दै आएको छु, नेपाली कांग्रेस पार्टी गरिबहरूको पार्टी हो, सुकुम्बासीहरूको पार्टीको हो, केही पनि नहुनेहरूको पार्टी हो, बेरोजगारहरूको पार्टीको हो भनेर म परिचित गराउन चाहन्नँ । हाम्रो पार्टी सुकुम्बासीहरूको पार्टी होइन, गरिबहरूको पार्टी होइन । त्यो नभएपछि हाम्रो पार्टीको ड्युटी के हो भने नेपालमा कसैलाई पनि सुकुम्बासी राख्नु हुन्नँ, नेपालमा गरिबी राख्नुहुन्न । मान्छेलाई गरिबीबाट माथि उठाउने, सुकुम्बासीको अवस्थाबाट बाहिर ल्याउने कर्तव्य हाम्रो पार्टीको हो । मेरो भाषण यो हो ।

रेलको सन्दर्भमा मेरो एकदम क्लियर कुरा हो । नेपालमा रेल एकदम ल्याउनुपर्छ । पानीजहाज पनि चाहिन्छ । पूर्वाधार चाहिन्छ । तर, त्यसको उपयोग कसरी गर्ने, केका लागि गर्ने भन्नेबारेमा आजैदेखि चिन्तन सुरु गर्नुपर्छ । रेलमा चढेर एकदम धेरै पर्यटक आउँछन्, ती पर्यटक कहाँ आउँछन्, रेलसँगसँगै होटेल पनि चाहिएला नि । मानौँ ५० लाख पर्यटक पुग्लान् । ती पर्यटक राख्ने, घुमाउने ठाउँ चाहिएला । सामग्री ओसार्ने हो भने त्योअनुसारको उत्पादन बढाउनेतर्फ पनि ध्यान दिनुपर्ला । खाली रेल–रेल–रेल भनेर मात्र हिँड्दा हामी कहाँ पुग्छौँ भनेर मैले भनेको थिएँ । त्यसको एक दिनपछि घनश्याम भुसालको अन्तर्वार्ता मैले पढेको थिएँ, उहाँले पनि त्यही कुरा भन्नुभएको थियो । ७७ जिल्लामध्ये म ७५ जिल्ला पुगेर आइसकेँ । जिल्ला मात्र होइन, गाउँगाउँ पुगेर आएको छु । सम्भवतः सबैभन्दा धेरै घुम्ने मान्छेमध्ये पर्छु म । हामीले पूर्वाधारको विषयमा अझै पनि राम्रोसँग सोचिराखेका छैनौँ भन्ने लाग्छ । हिसाब–किताब नगरी लागेको कुरा भनेको हुँ । गएको एक डेढ वर्षदेखि संस्थागत ढंगबाट मैले बोलेका केही कुरालाई त्यसरी बाहिर लिएर जाने, हुँदै नभएको कुरालाई पनि हो भनेर ल्याउने काम भएको छ । केही समयअघि गाईको विषयमा पनि भन्दै नभनेको विषयलाई लिएर ढुंगामुढा नै हुने अवस्थासम्म पनि आयो । यस्तो भइरहन्छ, म्यानेज गर्नुपर्छ ।

अभियोग १० : तपाईंलाई भारतपरस्त भन्ने आरोप पनि लाग्ने गर्छ । अरु मुद्दाहरु जसरी आक्रमक ढंगले उठाउनुहुन्थ्यो, भारतले गरेको नाकाबन्दीको विरोधमा त्यति चर्को स्वर सुनिएन नि ?

पहिला नाकाबन्दीको कुरा गरौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकभित्र उग्रताको पनि सीमा नाघेर, नेताहरूसँग व्यक्तिगत रूपमा झगडा गरेर यो विषयमा निर्णय गर्नुपर्छ भन्ने पहिलो दिनको बैठकमा म एक्लो थिएँ । त्यतिले मात्र चित्त नबुझेर संविधानसभा भवनको बाहिर गएर ठूलो आमसभा नै गरेर मानवताविरुद्धको अपराध हो भनेर बोल्ने मान्छे मै हुँ । त्यो वेलामा नाकाबन्दी र मधेसी मोर्चासँग कुरा गर्ने विषय फरक हो । नाकाबन्दीको म धुरन्धर विरोधी थिएँ, छु । तर, मधेसीसँग, थारूहरूसँग संवाद गरेर जानुपर्छ भन्ने धारणा थियो । चीन र भारतसँगको सम्बन्धलाई समान ढंगबाट लिएर जानुपर्छ । जहाँसम्म यो भारतपरस्त भयो भन्ने प्रश्न छ, यस्ता कुराले हाम्रो ज्ञान कति कमजोर छ झल्किन्छ । हामीहरुबीच हुने यस्ता कुराहरु सुनेर विदेशी नियोगहरु कति हाँस्छन होला जस्तो लाग्छ । मेरो बारेमा कसैले यो कुरा मलाईभन्दा एउटा राजनीतिकर्मीको विषयमा सार्वजनिक रूपमा उठाएपछि खोजबिन गर्नुपर्ने विषय हो । यदि मेरो बारेमा त्यस्तो हो भने त्यो खोज्नुप¥यो, नंग्याउनुप¥यो भन्ने लाग्छ । तर, व्यक्तिगत रिस उठ्नेवित्तिकै यस्ता आरोप लगाउने काम हुन्छ ।

अभियोग ११ : उदाहरणका रूपमा कृषि फर्मदेखि मासु पसलसम्म चलाउनुभयो तर, टुंगोमा पुर्‍याउन सक्नुभएन । त्रि–चन्द्र कलेजको स्ववियुमा हुँदा आर्थिक अनियमिताको आरोप पनि झेल्नुभयो ।

म त्यसको शतप्रतिशत खण्डन गर्छु । म एसएलसी पास गरेदेखि काम गर्न सुरु गरेको मान्छे हुँ । पहिला किताब पसलमा, त्यसपछि ट्युसन पढाउन थालेँ, रेडियोमा काम गरेँ, कम्पनी खोलेर काम गर्दै आएको २०औँ वर्ष भयो । पछिल्लो समयमा हामी चारजना साथीहरू मिलेर कृषिको काम सुरु गर्‍यौँ । हामीले आफ्नो परिश्रम गर्‍यौँ । लगानी गर्‍यौँ । मिहिनेत गरेर काम गर्‍यौँ । नाफा कमाउन सकेनौँ । घाटा भयो । मैले बाख्रापालन गरिरहेको छु, मासु पसल गरिरहेको छु । म जिल्ला–जिल्लामा जाँदा ‘दाइ मैले पनि पाठा पालिरहेको छु है, मैले पनि बाख्रापालन सुरु गरेँ है’ भन्ने यति धेरै मान्छे भेटिन्थे । म डुबेँ भनेर हात उठाएर हिँडेको भए थुप्रै मान्छे हतोत्साही हुन्थे । मैले पो नजानेर घाटामा गयो । म राजनीति गर्ने मान्छे, संयोग कस्तो भने हामी चारैजना राजनीति गर्ने भएकाले हामीले तरिका पु¥याएनौँ । हामीले हात उठाउँदा राम्रो सन्देश जाँदैन भन्नेर डुब्दाडुब्दै पनि समाजप्रतिको जिम्मेवारीले गर्दा हामी कामबाट भागेनौं । तर, एउटा बहुलठ्ठी आएर बोलिदिने अनि समाजलाई मैले गरेको होइन भनेर जवाफ दिइरहनुपर्ने ? मैले जग्गा नकिनेर, बाख्रा पाल्ने भनेर लागेको मान्छेले जिन्दगीभर जवाफ दिएर हिँड्नुपर्ने ? जसले नभएको कुरा भन्यो उसलाई चाहिँ आनन्द ।

मेरो त्रिचन्द्र कलेजको सन्दर्भमा पनि यही हो । त्यहाँभित्र म निर्वाचन लडेर वेलामा सदस्य, सचिव, सभापति भएँ । त्यहाँबाट युनिभर्सिटीको सिनेट मेम्बर भएँ । हामीले प्राप्त गर्ने मत कति हुन्थ्यो भने मैले २ हजार मत ल्याउँदा मसँग चुनाव लड्ने अखिलको साथीले १ सय ५० मत ल्यायो । मैले हस्तान्तरण गर्दैगर्दा पनि अवस्था त्यस्तै थियो । के त्यतिवेला त्यहाँका सबै विद्यार्थी मूर्ख थिए ? म अहिले पनि सम्झन्छु हामीसँग चुनाव लड्दै गर्दा अर्को संगठनको साथी ‘हामी निर्वाचन लड्दैनौँ, निर्वाचन नलडेबापत हाम्रो चुनावको सम्पूर्ण खर्च बेहोरिदिनुपर्छ’ भनेर आउनुभएको एक जना साथीले यसपालि निर्वाचन प्रचारको वेलामा ‘त्रिचन्द्र कलेजमा यसले गरेको अनियमितताकोप्रमाण मसँग छ’ भनेर भिडियो बनाएर प्रचार गरेको देखेँ । जसको श्रीमती चुनाव लड्दै गर्दा हामीसँग भन्न आउनुभएको थियो । हामी यति स्ट्रोङ थियौँ कि हामीले कसैसँग पनि सम्झौता गर्नुपर्ने अवस्थै थिएन । यो त हाम्रो मिडियाको कमजोरी भयो नि । श्रीमतीसँग डिभोर्स भयो भनेर पनि हल्ला चलाए ।

राजनीतिमा इथिक्सभित्र बस्नुपर्छ । मेरो शुभचिन्तकले म निस्कने वेलामा एउटा कुरा गर्नुछ भन्यो भने ‘मेरो डिभोर्सको बारेमा कुरा गर्न लागेको’ भनेर सोध्थेँ । डेनमार्कमा सार्वजनिक कार्यक्रममा राष्ट्रिय झन्डामाथि रक्सीका गिलास राखिएको फोटो सार्वजनिक भयो र रक्सी खाएर नेपाली झन्डा पनि थाहा नपाउने मान्छे भनेर चिनाउन खोजियो । पछिल्लो समय धर्मसँग जोडेर पनि प्र्रचार गरियो । एकचोटि मलाई क्रिस्चियनसँग सम्बन्ध छ, हिन्दू धर्मसँग लगाव छैन भनेर भनियो । यस्ता कुराको खण्डन गर्ने कुरा पनि भएन । मलाई के कुरामा नरमाइलो लाग्छ भने यस्तो सशक्त मिडिया भएको ठाउँमा, सचेत नागरिक भएको ठाउँमा यस्ता विषय केही मान्छेले आफ्नो इन्ट्रेस्टअनुसार निरन्तर भनिरहन सक्ने र त्यसको सबै वनरसिप भिक्टिममाथि हालिदिने, अनि जवाफ दिइरहनुपर्ने रु खास प्रश्न त जसले भन्छ ऊमाथि तेर्सिनुपर्ने हो । आजभोलि त बानी भइसक्यो । आज मात्र श्रीमतीले ‘२० वर्षे गाडी फाल्नुभन्दा ७० वर्ष नाघेका नेतालाई नदीमा फालिदिनुपर्छ भनेको हो र, फेसबुकमा हालेको छ’ भनेर सोधिन् । अब फेरि तीन÷चार दिन यो आउने भएछ भन्ने ठानेँ । ०६२/६३ पछि पार्टीभित्र जब एउटा पोजिसन बन्दै गयो, तब ममाथि निरन्तर प्रहार गर्ने काम भइरहेको छ ।

अभियोग १२ ?  स्वास्थ्यमन्त्रीका रूपमा राम्रा मुद्दा अघि सारेर प्रचार गर्नुभयो । तर, तत्काल व्यवहारमा देखिने केही काम भएनन् ।

कतिलाई यसो गरेको भए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविकै हो । म पनि सोच्छु– फेरि मन्त्रीको कुर्सीमा बस्दा के–के गर्थें होला, के–के गर्दिन थिएँ होला । तर, मेरो कुरा यस्तो थियो । मन्त्री सार्वजनिक दबाबमा हुन्छ, छोटो समयका लागि भएकालाई त अझै बढी दवाव हुन्छ । जम्मा ६ महिनाका लागि मन्त्री भएको, परिस्थितिले ९ महिना बसियो । नयाँ मन्त्रालय मलाई त्यसका बारेमा ज्ञान थिएन । तत्काल देखिनेगरी काम गर्नुपर्छ भन्ने सुझाब र दबाब ममाथि नभएको होइन । तर, म समितिको सभापति भएर दुई वर्ष काम गर्दा राम्रो ज्ञान के कुरामा भएको थियो भने सही नीति बन्यो भने राम्रो परिणाम आउँछ । बरु केही समय गाली खानुपरे पनि स्वास्थ्य क्षेत्रमा सही नीति ल्याएर काम गर्छु भनेर लागेँ । म अहिले गर्वका साथ के भन्न सक्छु भने अबको आठ–दश वर्षको स्वास्थ्य क्षेत्रको विषय भनेको त्यो वेला मैले गरेको नीति नै हुनेछ । मैले जुन काम सुरु गरेँ, अब आउने मन्त्रीहरूले त्यसलाई पूरा गर्ने मात्रै हो । त्योभन्दा पर जानुपर्दैन । ती सबै काम नगरेर छोटो अवधिका लागि मात्र काम गरेको भए हुन्थ्यो भन्ने विषयमा म डिफेन्स गर्दिनँ । किनभने मानिसको आ–आफ्नो सोचाइ हुन्छ । मैले केही आधार तयार पार्नुपर्ने थियो, त्यो तयार गरेँ । नयाँपत्रिकाबाट साभार

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत
loading...