प्रेरणा

रिक्सा चलाएरै काठमाडौंमा घर

  • ४ बैशाख मंगलबार, २०७५ | ०७:०२:०० मा प्रकाशित

काठमाडौं । भनिन्छ, ‘एउटै काममा निरन्तर लागिरह्यो भने एक दिन अवश्य सफल भइन्छ ।’ यो भनाइलाई चरितार्थ गरेका छन्, राजधानीको ठमेल क्षेत्रका रिक्साचालक लालबहादुर तामाङले । उनले रिक्साकै कमाइले काठमाडौंमा घर बनाए । छोराछोरी पढाए । छोरालाई स्टुडेन्ट भिसामा अस्ट्रेलिया पठाए । २२–२३ वर्षको उमेरदेखि रिक्सा चलाउन थालेका उनी सात दशक कटिसके अर्थात् ७१ वर्षका भए । तैपनि, उनमा जोश र जाँगर उस्तै छ ।

लालबहादुरको घर काभ्रेको कोसीपारीस्थित सानो शैलुङ हो । आजभन्दा करिब ६ दशकअघि उनको गाउँमा कुनै विद्यालय थिएन । अलि टाठा–बाठाका छोरा–छोरीहरू काठमाडौं आउँथे । गाउँको सामान्य खेती–किसानी परिवारमा जन्मिएका र सामान्य चेतनास्तर भएको परिवारका लालबहादुरले काठमाडौंसम्म आएर पढ्ने कुुरै भएन । भन्छन्, ‘पढ्न काठमाडौं आउनुपथ्र्यो । म आइनँ ।’

लालबहादुरको १७ वर्षको उमेरमा गाउँकै युवतीसँग विवाह भयो । दुई छोरा भए । तर, दुर्भाग्य श्रीमतीसँगै दुवै छोरा बिते । पुराना दिन सम्झँदै उनी भन्छन्, ‘सबै बितेपछि त साह्रै नै पिर लाग्यो ।’ त्यसको एक दशकपछि अर्थात् २७ वर्षको उमेरमा लालबहादुरले अर्को विवाह गरे । ‘काठमाडौंमा गरिखाइरहेको यत्तिको केटाले पाल्छ भनेर मलाई पुनः कन्नेकेटी दिए । मेरा आमा–बुवाकै पहलमा हो,’ रमाइलो मान्दै लालबहादुरले भने । अहिले उनका तीन छोरी र एक छोरा छन् । लालबहादुरका छोराले काठमाडौंमै एमए गरे । उनले आफूसमान पढेकी बुहारी भित्र्याए ।

उनीहरूले लालबहादुरलाई एक नाति उपहार पनि दिइसकेका छन् । भन्छन्, ‘छोरा स्टुडेन्ट भिसामा पढ्न भनेर अस्ट्रेलिया गएको हो । अहिले उतै स्थापित भएको छ ।’ लालबहादुरका नाति ६–७ महिनाका भए । तर, प्रत्यक्ष देख्न भने पाएका छैनन् । भन्छन्, ‘बोकौँ–बोकौँलाग्दो नाति छ । फोटोमा मात्र देख्न पाएको छु । प्रत्यक्ष देख्न पाए हुन्थ्यो भन्ने चाहना छ ।’

०००
लालबहादुरका छोरा मात्र होइन, तीन छोरीमध्ये सबै शिक्षित छन् । बिए पढेकी जेठी छोरीको बिहे भइसक्यो । माइली छोरी २५ वर्षकी भइन् । बिएसम्म नै पढेकी उनी अहिले पसल चलाएर बस्छिन् । कान्छी छोरी १९ वर्षकी भइन् । १२ कक्षा पढ्दै छिन् । रिक्साचालक भएकोमा गर्व गर्दै लालबहादुर भन्छन्, ‘छोरालाई स्टुडेन्ट भिसामा बाहिर पठाउने र छोरीहरूलाई पढाइदेखि व्यवसायसम्म गराउने पनि यही रिक्सा हो ।’

०००
लालबहादुरले सुरुमा काठमाडौं आएर टेकुमा ठेलारिक्सा चलाए । त्यहाँ १४–१५ वर्ष चलाएपछि ठमेलतिर रवाना हुँदै पाइडलवाला रिक्सा चलाउन थाले । उनी साहुको रिक्सा चलाउँछन् । आफ्नै रिक्सा चलाउने कुनै सोच छैन । रिक्साकै कमाइले लालबहादुरले कपनमा जग्गा किने । घर बनाए । अब अर्को तल्ला थप्ने योजनामा छन् । ‘अब त छोराले पनि अस्ट्रेलियाबाट पैसा पठाउँछ । अर्को तला थप्न के गाह्रो भयो र ।’

झन्डै पाँच दशकदेखि लालबहादुरले ठमेललाई नियालिरहेका छन् । यसबीचमा ठमेल क्षेत्रमा व्यापक परिवर्तन आएको उनी बताउँछन् । भन्छन्, ‘पहिले–पहिले थोरै पर्यटक आउँथे, आजकल त धैरै आउन थालेका छन् । त्यस्तै, लगभग विश्वभरिका पर्यटक आउँछन् ।’ उनीहरूले एक–दुई डलर टिप्सस्वरूप दिए भने पनि यहाँको एक–दुई सय त लालबहादुरले त्यत्तिकै कमाइरहेका हुन्छन् । टिप्सबाहेक पनि कम्तीमा दिनको हजारदेखि १५ सयसम्म कमाउने उनी बताउँछन् ।

०००
दैनिकी ठमेलमै बिताउने लालबहादुर आफूले ठमेल क्षेत्रका व्यापारी, पुलिसदेखि नेतासम्म चिनेको दाबी गर्छन् । प्रफुल्लित हुँदै उनी भन्छन्, ‘यहाँ मैले नचिनेको साहु कोही छैन । ट्राफिकदेखि होटेलका म्यानेजर सबै चिन्छु ।’ थप्छन्, ‘गणेशमान सिंहकी छोरीले काठमाडौं गेस्ट हाउस बनाइन् । उनीसँग चिनजान छ । गफगाफ पनि गरेको छु ।’ लालबहादुर सुरुका दिनमा ठमेल आउँदा त्यो क्षेत्र सभ्य थियो । बिहान ९ बजेदेखि बेलुका ५–७ बजेसम्म ठमेल क्षेत्रमा बिताउने उनी धेरैथोक देख्छन् । भन्छन्, ‘भनेरै साध्य छैन । हरेक कुरा देखिन्छ ।’ विदेशी पर्यटकलाई ठग्ने जमातप्रति उनको गुनासो छ । एक कक्षा पनि नपढेका लालबहादुर इंग्लिससँगै जापानिज, चाइनिज भाषा पनि फाट्टफुट्ट बोल्ने बताउँछन् । भन्छन्, ‘मलाई यो कला पनि रिक्साले दिलाएको हो । गेस्टहरूले मलाई माया गर्छन् । कतिपयले त हामीसँग विदेश जाउँ पनि भन्छन् ।’

०००
लालबहादुरलाई छोराले अब काम नगर्नु भनेर प्रेसर दिन्छन् । तर, उनी काम नगरी बस्दा आफू बिरामी नै हुने गरेको बताउँछन् । ‘छोराको कुरा मानेर एकपटक पाँच दिनजति त्यसै बसेको बिरामी नै भएँ,’ उनले भने । नयाँपत्रिकामा खबर छ। 

तपाईँको मत