प्रेरणा

हावामै पैसा फलाउँछन् यी तीन उद्यमी युवा

काठमाडौं ।  एउटा प्लालै प्लाल भएको पानी भर्ने ड्रममा लट्टरम्म गोलभेडा फलेको देख्न सकिन्छ । त्यही ड्रममा लसुन, प्याज, धनिया, बोडी, सिमी, काँक्रा, फर्सीका लहरा फैलिएको देख्दा अचम्म लाग्छ । यसरी फलाउनेहरु यसलाई हावामा फलेको तरकारीको रुपमा व्याख्या गर्छन् ।

हामी सधैं भन्ने गर्दछौं कि नेपाल कृषिप्रधान देश हो । तर कृषिप्रधान देशमा कृषि उब्जनीहरु भने विभिन्न मुलुकहरुबाट आयात गरिरहेका छौं । गरिरहेका खेती पनि परम्परागत शैली र बीउ बिजनमा नै आश्रित छ । तथापी पछिल्लो समयमा प्रविधि, ज्ञान, सीप, श्रम, लगानी, तथा युवा आकर्षणले भने कृषि क्षेत्रमा केही परिवर्तन भित्रिदै गएको छ । 

अहिले व्यावसायिक कृषिमा युवा आकर्षण बढ्दो क्रममा छ । खेती गर्ने तरिका पनि प्रविधिमैत्री हुँदैछन्  छन् । अनुसन्धानसँगै नयाँ नयाँ विधि भित्रिदै पनि छन् । त्यसमध्ये एक हो एरोपनिक्स प्रणाली । नेपालमा पनि अहिले हावामा खेती गर्ने प्रविधि एरोपनिक्स शुरु भएको छ । हावामा तरकारी फलाएर व्यावसायिक रुप दिन शिजर राणा, प्रकाश दाहाल र विप्लप सिंह तीन युवा लागिरहेका छन् । 

प्लाष्टिकको ड्रममा फलाएको तरकारी वर्षदिन भर खाएर बिक्रीसमेत गर्न मिल्छ । हप्ताको आधा घण्टा समय दिए पुग्छ । न पानीको धेरै आवश्यकता पर्दछ एउटा ड्रमलाई २० लिटर भन्दा बढी पानि लाग्दैन । उत्पादन पनि दोब्बर हुन्छ । 

के हो त एरोपनिक्स कृषि प्रविधि 

एरोपनिक्स प्रविधिमा खेती गर्न ड्रमको आवश्यकता पर्दछ । कुन जातको बिरुवा कति रोप्ने हो त्यसैको आधारमा उक्त ड्रममा प्लाल, टाइमर, मेशिन लगायतका उपकरण जडान गरिन्छ । ड्रमको वरिपरी पारिएको प्वालमा तरकारीको बेर्ना अड्याउने फर्मको प्रयोग गरिन्छ । ड्रममा फिट गरिएको मोटरको सहायताले बिरुवालाई आवश्यक पोषक तत्व तापक्रम मिलाएर पुर्याइन्छ । बिरुवाले जमिन नछुने भएकोले नै यसलाई हावामा फलेको भनिएको हो । यो प्रविधिमा प्रयोगशालामार्फत बिउलाई बेर्नामा परिणत गरिन्छ । यो नितान्त प्राकृतिक प्रणाली हो । जमिनको प्रयोग नगरिने भएकोले ड्रमभित्र बिरुवा हुर्कन र उत्पादन थाल्न आवश्यक पर्ने पोषण तत्वका साथै माटोमा पाइने मिनरलसमेत आवश्यक मात्रामा राखिएको हुन्छ । 


किङस कलेजले जुटायो तीन भाईलाई  
बोस्टर्न विश्वविद्यालयबाट एमबिए सकेर फर्के शिजर राणा किङ्स कलेजमा पढाउन पुगे । काठमांडू पोष्ट र बोस म्यागेजिनमासमेत काम गरेका राणालाई एक मनले अमेरिकाबाट नेपाल नफर्किने सोच पनि नआएको होइन तर पढाई सकेपछि नेपालमै केही गर्ने सोचले नेपाल तान्यो । 

इलाम धोबीधाराका प्रकाश दाहाल पनि लण्डनको ग्रीनवर्ड विश्वविद्यालयमा एमबिए सकाएर नेपालमा आए । आउनसाथ के गर्ने भन्ने अलमलमा रहेका दाहाल पनि पढाउने शिलशिलामा किङस कलेजमा ठोक्किए । 

विप्लव सिंह पनि एमबिए सकाएर किङस कलेजमै प्रशासन शाखा सम्हालिरहेका थिए । त्यसै क्रममा तीनै जनाको कलेजमा सधैं भेट भइनै हाल्थ्यो । पढाउने बाहेक पनि केही न केही नयाँ गर्ने सोचमा रहेका तीन जनाबीच विभिन्न विषयमा छलफल हुन्थ्यो । विप्लवल भन्छन् ‘शेयर कारोबारदेखी साना उद्योग खोल्नेसम्मका कुरा हुन्थे तर पनि हामी अलमलमा नै थियौं । अन्त्यमा तरकारी खेतीलाई नयाँ प्रविधिबाट किन नगर्ने भन्ने सोचले नै अन्तिम व्यवसायिक रुप लियो ।’ शिजर र प्रकाशले विदेशमा अध्ययन गर्ने क्रममा यो प्रविधि देखेका थिए । तर यसैलाई व्यवसायिक रुपमा गरिन्छ भन्ने त्यतिबेला नसोचेको बताउँछन् । 

बिहान कलेज, दिउँसो एरोरुट्स
शिजर र प्रकाश अहिले पनि बिहान कलेजमा बिजनेस र उद्यमशीलता विषय पढाउँछन् । ‘पढेको कुरा पनि अपडेट हुन्छ । विद्यार्थीलाई उद्यमशीलताको बारेमा पनि सिकाउन पाइन्छ । व्यवहारिक शिक्षा पनि सिकाउनु पाउनु रमाइलो लागिरहेको छ ।’ राणा भन्छन् । प्रकाश थप्छन् ‘बिहान खेर गएको समयलाई विद्यार्थीसँग सदुपयोग र ज्ञान बाँड्न पाएकोमा खुशी नै छौं  ।’

नासाले अन्वेषण गरेको यो प्रविधिबाट नेदरल्याण्ड, इजरायल, अमेरिकामा यो प्रविधिबाट ठूलो मात्रामा व्यवावसायिक खेती भइरहेको छ । तर नेपालमा भने आफूहरुले नै व्यावसायिक रुपमा पहिलो शुरुवात गरेका दाबी गर्छन् । एरोपनिक्स प्रविधि कृषि मार्फत र शहरी क्षेत्रलाई लक्ष्यित गरेर यो प्रविधि भित्र्याएको राणा बताउँछन् । ‘नार्कले १० वर्ष अघि शुरु गरेका काम विविध कारणले व्यावसायिक नभई अल्झिएको रहेछ । त्यही अनुसन्धानलाई  पनि हामीले प्रयोग गरेका छौं । नार्क र विदेश रहेका कृषि विज्ञहरुसँग सम्पर्कमा रहेर काम पनि यसको सहयोग लिइरहेका छौं ।’ राणा भन्छन् । 

यी उत्साहित युवाहरुले एक वर्षको सफल परीक्षणपछि  एरोरुट्स कम्पनी दर्ता गरेर व्यावसायिक तरकारी खेती र यो प्रविधिमार्फत गरिने खेतीको प्रवद्र्धनमा व्यस्त छन् । उनीहरुको कम्पनीले गोदावरीमा १० रोपनी जग्गा भाडामा लिएर कृषि फार्म गर्ने तयारी अन्तिम चरणमा पुगेको छ  । उनीहरुले कलंकी, बानेश्वरमा सानो स्केलमा गरिरहेका छन् भने गोदावरीमा व्यावसायिक रुपमा कृषि फार्म तयार गरिरहेका छन् । झापामा पनि यसको व्यवसायिक खेतीको लागि माग भइरहेको बताउँछन् । 


एउटा प्लाष्टिकको ड्रमको मूल्य ६० हजार रुपैयाँ पर्दछ । सो मूल्यमा ड्रमसहित एक वर्षलाई पुग्ने मल, बेर्ना उपलब्ध गराउँछन् । दुई लिटरको मलले एक वर्षलाई पुग्छ । जसबाट वर्षमा एक लाखको तरकारी फलाउन सकिने सिंहको अनुभव छ । उनीहरु तीनै जनाले आफ्नै घरमा पनि यो प्रविधिमार्फत खेती गरिरहेका छन् । उनीहरुले विभिन्न कृषि तथा प्रविधि मेला, प्रदर्शनीमा धेरैको चासो देखाएको बताए ।  राणाले भने ‘घरको कौसीमा राख्न मिल्ने भएकाले धेरैले चासो राख्नुभएको छ । गृहिणी, कृषि क्षेत्रसँग सम्बद्ध रहनुहुनेले कम खर्च र जनशक्तिमा उच्च उत्पादन गर्न सकिने भएकाले बढी सोधखोज गर्नुभएको छ ।’ 

सरकारसँग अनुरोध
ड्रमको मूल्य केही महँगो भएको प्रतिक्रिया धरैको आएको बताउँछन् । २० वटा ट्यांकीले डेढ रोपनी जग्गाको बराबर उत्पादन गर्ने उनीहरुको दाबी छ । यसको लागि हप्ताको ३-४ घण्टा समय दिए पुग्छ । पानी र जनशक्ति नभएको ठाउँमा यो निकै उपयुक्त हुन्छ । सरकारले सामान आपूर्तिमा भन्सार छुट गरिदिए हुन्थ्यो । यसमा प्रयोग हुने मल ल्याउने बाटो खुलिसकेको छैन । यसमा प्रयोग हुने मललाई पनि मलको रुपमा मान्यता दिए अझ सजिलो हुने बताउँछन् । दाहाल भन्छन् ‘कृषि सामग्री नै भएकोले आयात गर्दा लाग्ने दस्तुरमा सहुलियतका लागि नेपाल सरकारसँग कुरा गरिरहेका छौं । त्यस अनुसार मूल्य सकेसम्म घटाउने प्रयास रहनेछ ।’ 

एरोपनिक्स कृषि प्रणालीलाई पानी, जनशक्ति अभावको विकल्पको रुपमा लिन सकिन्छ । जसबाट उद्यमी युवाहरुलाई थप आकर्षित गर्न सकिन्छ । बढ्दो शहरीकरण र मासिँदै गएको खेतीयोग्य जमिनको सट्टामा पनि यो प्रविधि प्रयोग गर्न सकिन्छ । यस्ता नयाँ प्रविधि र युवा उद्यमीहरुलाइै सरकारले पनि विशेष ध्यान दिन जरुरी छ । तस्बिर : एरोरुटस पेजबाट लिईएको हो
 

शिवराज खड्का

तपाईँको मत